
काठमाडौँ : एमाले अध्यक्ष केपी ओलीले संविधान संशोधन प्रस्ताव संसदबाट पारित हुन नदिने अडान दोहोर्याएका छन्।
प्रमुख प्रतिपक्षी एमालेसहित नौ दलले आयोजना गरेको सभामा सम्बोधन गर्नका लागि सबैभन्दा अन्तिममा छुट्याइएको थियो पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई समय।
उनले बोल्दै गर्दा घाम डुब्न लागिसकेको थियो, सभामा सहभागीहरुलाई घर जान हतार भइसकेको थियो, त्यसैले उनले पटक-पटक हामीसित धेरै समय छैन भन्दै आफ्ना कुरा राखिरहे। सभामा उनले राखेका तर्क यस्ता छन्-
१) माघ ७ भित्र निर्वाचन नभए प्रधानमन्त्री कामचलाउ पनि हुँदैन
संविधान जारी भएको छ तर कार्यान्वयन भएको छैन। कार्यान्वयनका लागि संविधानले तय गरेका संरचना र निकाय गठन गर्नुपर्नेछ। त्यसका लागि निर्वाचन गर्नुपर्नेछ। २०७४ माघ ७ भित्र सर्वोच्च जनप्रतिनिधि निकाय नभए संकट हुन्छ। प्रधानमन्त्री पदमुक्त हुन्छ। संस्था र प्रक्रिया नभएपछि कामचलाउ पनि हुन्न। संवैधानिक र राजनीतिक संकट आउँछ।
२) सरकार अनुचित उद्देश्यले बनेको
आज देशलाई निर्वाचनको बाटोमा लैजानुपर्नेछ। ११ महिनाको पनि समय छैन। सरकार के गर्दैछ? सरकारलाई निर्वाचनको चासो छैन। आयु लम्ब्याउने कुरा छ। अनुचित उद्देश्यले बनेको सरकार अनुचित उद्देश्य पूरा गराउन लागेको छ।
३) मैथिली भन्ने हिन्दी अगाडि बढाउने
संविधान संशोधनमा भाषाको कुरा आएको छ। यहाँ कुरा गर्दा मैथिली भन्ने अनि हिन्दी अगाडि बढाउने षड्यन्त्र बोकेर आएको छ। भन्दा मधेसको कुरा गर्ने तर सबैभन्दा पहिलो प्रहार गौरवपूर्ण इतिहास बोकेको मैथिली र भोजपुरी माथि हुन्छ। अनि त्यसपछि राष्ट्रभाषा माथि हुन्छ।
४) संविधान संशोधन तासको पत्ता पछारे जस्तै
सरकार पक्षका नेताहरु भन्नुहुन्छ यो त संविधान संशोधन पो हो। देशलाई नोक्सान पार्ने कुरा कहाँ छ यो प्रस्तावमा भन्नुहुन्छ। जुवाडेले कौडा खेलाउँछ, पछार्छ। तर कौडा जित्ने हार्ने होइन, सम्पतिको हारजित हुन्छ। जुवाडेले तासको पत्ति फ्याल्छ, पछार्छ। तर तासका पत्ती हारजित हुने होइन। जित्नेले तासका पत्ती जितेर घर लैजाने होइन। सम्पतिको हारजित हुन्छ। संविधान संशोधनको नाममा प्रस्ताव अगाडि आएको छ। संविधान संशोधनको नाममा यो तासको पत्ता पछारे जस्तै हो। तर राष्ट्रियतालाई आघात पार्ने कुरा यसभित्र छ। त्यसकारण हामीले यसलाई हुन दिन्नौँ भनेका हौँ।
५) प्रधानमन्त्री झुट बोल्दैछन्
प्रधानमन्त्री जस्तो व्यक्ति झुट कुरा बोलेर हिँड्नु भएको छ- प्रधानन्यायाधीशले भेट्नुभयो, सल्लाह दिनुभयो, निर्देशन दिनुभयो। सल्लाह दिनुभयो – संसदमा छलफल गर्नु भनेर। न सर्वोच्च अदालतको त्यो काम हो न सर्वोच्च अदालतका प्रधान न्यायाधीशको। न प्रधान न्यायाधीशले त्यस्तो काम गर्छन्।केही अगाडि तपाईँहरुले सुन्नुभयो – मैले अदालत पनि मिलाइसकेँ, ढुक्क भए हुन्छ भनेर प्रधानमन्त्रीले बोलेको। भ्रष्टाचारका कुरा उठेका थिए। त्यतिबेला प्रधानमन्त्रीले भन्नुभयो। अदालत पनि मिलाएँ, मैले सबै मिलाएँ - ढुक्क भए हुन्छ। केन्द्रीय तहको नेतृत्वमा त्यो बोल्नुभयो। उहाँहरु यस प्रकारको अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति दिएर हिँड्नुभएको छ। गैरजिम्मेवार तरिकाले अनुचित कुराको सहारा लिएर हिँड्नु भएको छ। यो अत्यन्त अनुचित कुरा हो जसलाई सर्वोच्च अदालतले खण्डन गरिसकेको छ।
६) एमालेलाई तराईबाट लखेट्ने
तराई र पहाडका बीचमा अविश्वास श्रृजना गर्ने प्रयास भएका छन्। म ध्यानाकर्षण गर्न चाहन्छु। आजको यस ऐतिहासिक सभामा तराईवासी जनताले देखाएको उत्साह र मानवसागरमा तराईवासीको सहभागिता सरकारवालाले देखुन्। तराईका नाममा राजनीति गरेर दुनो सोझ्याउन पल्केका तर तराईका जनताको प्रतिनिधित्व नगर्ने, तराईका जनतालाई शोषण गर्ने त्यस्ता कुरा छन्।एउटा दम्भ हामी देखिरहेका छौँ। कहिले कहिले भनेको सुनिन्छ ड्रम बजाएर कि नगरा बजाएर एमालेलाई तराईबाट लखेट्ने भनेर। भन्न चाहान्छु म – उहाँहरुले जितेको ११ सिट त्यो पनि ३ वर्ष अगाडिको परिणाम हो। एमालेले जितेको ४० सिट।
७) स्याटेलाइटबाट फोटो खिच्नुपर्ने तराई अभियान
अब हामी तराई अभियानमा जाँदै छौँ। म यहाँहरुलाइ भन्न चाहान्छु। फागुनको दोश्रो हप्ता मेची काली अभियान हामी सञ्चालन गर्दै छौँ। जुन अघि ड्रोन चलाएर फोटो खिच्दै थियो, अब स्याटेलाइटबाट फोटो खिच्नु पर्नेछ। यस ढंगका कार्यक्रम गरेर हामी तराई जाँदै छौँ। कसैले तराईका जनतामा रहेको देशभक्तिलाइ कमजोरी नठाने हुन्छ।