
काठमाडौँ : संसदको सार्वजनिक लेखा समितिले अन्तत: सभापति पाउने भएको छ। संसद सचिवालयले समितिमा नयाँ सभापति चयनका लागि बिहीबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।
लेखा समितिमा सभापति रहेका जनार्दन शर्मा मन्त्री भएपछि समितिको सभापति पद साउन २८ देखि रिक्त रहेको थियो। संसद सचिवालयले आउँदो २७ गते निर्वाचन गर्ने गरि कार्यतालिका सार्वजनिक गरेको हो।
कार्यतालिका अनुसार समितिमा रहेका सांसदहरुले आउँदो २५ र २६ गते सभापतिका लागि एक प्रस्तावक र एक समर्थक सहित उम्मेद्वारी दिन सक्नेछन्। पुस २६ गते नै उम्मेद्वारको नामावली सार्वजनिक हुनेछ भने २७ गते निर्वाचन हुनेगरि समितिको बैठक डाकिएको छ।
लेखा समिति सामान्यता प्रतिपक्ष दलको हुने अभ्यास छ। तर माओवादीले पनि अहिले समितिको सभापतिमा दावी गर्दै आएको छ।
सभापतिमा सवैको दावी
सार्वजनिक लेखा र महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन मुख्य क्षेत्रधिकार रहेको समितिमा प्रतिपक्ष दलको स्वत दावी लाग्ने परम्परा छ। यसअघि तत्कालीन सभापति शर्मा पनि प्रतिपक्ष दलका तर्फवाट सभापति भएका थिए।अन्य समितिमा सभापतिको दलीय भागबण्डा नमिलेको अवस्थामा शर्मा प्रतिपक्षको तर्फवाट सभापति भएका थिए। तर, शर्मा अघि लेखा समिति सभापति रहेका कांग्रेसका रामकृष्ण यादवले पार्टी सरकारमा सामेल हुँदा पनि सभापति पद भने छाडेका थिएनन्।
एमालेको स्वत दावी भए पनि माओवादीको पनि सभापतिमा चासो छ। माओवादीले अघिल्ला सभापति यादवको नजीर देखाएर सभापतिमा चासो देखाउँदै आएको छ। सभापतिमा दलहरुवीच सहमति नभए पनि लामो समयसम्म समिति नेतृत्वविहीन भयो ।
