
धनगढी : भुटानको ड्रुकस्टार फुटबल क्लब कैलालीको धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित भागेश्वर गुप्र सुदुरपश्चिम खप्तड गोल्डकपको दोस्रो चरणमा प्रवेश गरेको छ।
धनगढी रंगशालामा शुक्रबार भएको खेलमा क्यान्चो तोब्गेले ह्याट्रिक गरेपछि ड्रुकस्टारले वेष्ट काठमाण्डौलाई ४-१ ले पराजित गरेको हो।
वेष्ट काठमाण्डौंले पहिले गोल गर्दै अग्रता लिएपनि त्यसलाई कायम राख्न सकेन। कप्तान समीरजंग कार्कीले वेष्ट काठमाडौंका लागि गोल गरेका थिए। तर वेष्ट काठमाण्डौले दोस्रो हाफमा तालमेल विगार्दा डकस्टारले ४ गोल फर्काउँदै जित हासिल गर्यो। भुटानी क्लबका पेम्वा राईले ५६ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे।
त्यसपछि आक्रमक रुपमा प्रस्तुत भएको डकस्टारका लागि क्यान्चो तोब्गेले ७१ औं, ८४ औं र ८९ औं मिनेटमा गोल गर्दै हयाट्रिक पुरा गरेका हुन्।भुटानको राष्ट्रिय टोलीका सदस्य समेत रहेका ड्रुकस्टारका स्ट्राईकर क्यान्चोले ह्याट्रिकपछि खुशी व्यक्त गर्दै दोस्रो हाफमा सबै खेलाडीहरुको टीम वर्कका कारण जित्न सफल भएको बताए।
डकस्टारका प्रशिक्षक कोता नामगेन्जनले रणनिति अनुसार खेलेका कारण जित हासिल गरेको बताए। सुरुवातमा आफ्ना खेलाडीहरु मानसिक रुपमा तयार नभएको भएपनि पछि विपक्षीको भन्दा राम्रो खेलेको बताउँदै कोताले वेष्ट काठमाण्डौका खेलाडीले व्यक्तिगत रुपमा राम्रो खेलेको बताए।
वेष्ट काठमाण्डौका प्रशिक्षक सुन्दर थापाले केही खेलाडीहरु अन्य गोल्डकप खेल्ने गएको र केही खेलाडी घाईते भएका कारण जित हासिल गर्न नसकेको बताए। उनले एक गोलको अग्रता लिएको अवस्थामा गोलरक्षकको गल्तीले खेल बराबरी भएपछि खेल गुमाएको प्रतिक्रिया दिए।
माघ १ गतेसम्म चल्ने गोल्डकप अन्तर्गत शनिबारको खेलमा भारतको दिल्ली युनाईटेड र काठमाण्डौको व्वाईज युनियन क्लबबीच हुनेछ।
सुदुरपश्चिम ११ फुटवल क्लबको आयोजनामा भएको गोल्डकप विजेताले ५ लाख र उपविजेता २ लाख ५० हजार प्राप्त गर्नेछ।