काठमाडौं : प्रथम आइकेकेएफ क्योकुशिन कराते राष्ट्रिय च्याम्पियनसिप अन्तर्गत ६० केजी तौल समुहको क्वाटरफाइनल समिकरण पुरा भएको छ।
त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा शुक्रबारदेखी शुरु भएको प्रतियोगितामा काठमाडौँका भिम बहादुर थापा मगरले काभ्रेका प्रविन दनुवारलाई नकआउटका आधारमा हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे।
प्रतियोगिताको ६० केजी तौलसमुहकै अन्य प्रतिस्पर्धामा सफलता हात पार्दै कास्कीका गणेश अधिकारी, काभ्रेका राज राई, काठमाडौँका रोहित
श्रेष्ठ, पोखराका अनिष थोकर, सार्लाहीका विश्व लामा, सर्लाहीकै राम कुमार सुनुवार र ललितपुरका एक्का तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
प्री–क्वाटरफाइनलमा अधिकारीले सर्लाहीका सुवीक श्रेष्ठलाई, काभे्रका राईले वाजुराका मुकेन्द्र जंग शाहीलाई, काठमाडौँका श्रेष्ठले काठमाडौँका अनिल परियारलाई र सर्लाहीका लामाले काभे्रका राजमान लोचनलाई हराउँदै अन्तिम आठमा स्थान बना । त्यस्तै सर्लाहीका राम कुमारले ललितपुरका युवराज जिम्वा र ललितपुरका एक्काले काभे्रका प्रकास श्रेष्ठलाई हराए।
उद्घाटनका अवसरमा संघका प्रमुख प्रशिक्षक समेत रहेका प्रेमनाथ श्रेष्ठ लगायतको टोलीले डेमोन्स्ट्रेसन प्रस्तुत गरेका थिए।
नेपाल इन्टरनेशनल क्योकुशिनकाई कराते संघको आयोजनामा सर्बाधिक नगद राशीको प्रतियोगिता दुई दिनसम्म चल्नेछ। प्रतियोगितामा २२ जिल्लाका १ सय ७० खेलाडीले ६ तौलसमुहमा प्रतिस्पर्धा गरेका छन्। फुलकन्ट्याक्ट करातेमा पहिलो पटक व्यक्तिगत तौल समुहमा सर्बाधिक नगद राशीको पुरस्कार ब्यवस्था गरिएको प्रतियोगिताको पुरुषतर्फ ३० केजीमुनि,३५ केजीमुनि,५० केजीमुनि,६०केजीमुनि र ६० केजीभन्दामाथी तथा महिलामा खुल्लातर्फ प्रतिस्पर्धा हुनेछन्।
प्रत्येक तौल समुहका उत्कृष्ट पाँचलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलोदेखि पाचौँ हुनेलाई क्रमश, २० हजार, १० हजार, ५ हजार, २ हजार ५ सय र एक हजार दुई सय प्रदान गरिने महासचिव श्रेष्ठले जनाए।