PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

कनिका पुतली बन्न तयार तर कठपुतली हैन



किशोर नेपाल

कनिका पुतली बन्न तयार तर कठपुतली हैन

सात दोबाटोबाट कोटेश्वर आइ पुग्दासम्म कनिका धूलाम्मे भै सकेकी थिइ। उसले लगाएकी आइ–लाइनर र मस्करामा धूलो जमिसकेको थियो। सिंगार नै गर्नुपर्ने कुनै विशेष दिन त थिएन। रफ–टफ विन्दास कनिका सिंगार गरेर हिंडने केटी पनि होइन। तै पनि, आज केही विशेष थियोे। चार्ली आउँदै थियो। कान्तिपुरमा चार्लीको आवागमन विशेष दिन नभएपनि कनिकाका लागि विशेष त हुँदै हो। यो पटक चार्ली फर्किने हिसावले होइन, कान्तिपुरमा बस्ने हिसावले आएको थियो। बाबाको देहान्त भएपछि आमालाई एक्लै छाडनु सम्भव थिएन।

चार्ली स्थायी रुपले फर्किने कुराले कनिका खुशी थिइ। तर मनको एउटा कुनामा अलिकति चिन्ता थियो उसको पत्रकारिताको के हुन्छ? के रिपोर्टर कनिकालाई चार्लीले टलरेट गर्ला?

चार्ली आफनै व्यवसाय गर्न चाहन्थ्यो। उसले जानेको व्यवसाय कफी थियो। ऊ कफी व्यवसायमा केही चमत्कार गर्न चाहन्थ्यो। उसलाई थाहा थियो, यो तातो पानीमा कफी फिटेर बेच्ने धन्दाको कुनै अर्थ छैन। सानो प्वालबाट कफीको अन्तर्राष्ट्रिय बजारमा छिर्न मात्रै सकियो भने पनि राम्रो उन्नतिगर्न सकिन्छ। चार्लीको मनमा कतै थियो, कनिकासंग उसको जोडी वाँधिएपछि व्यवसायमा सजिलो हुनेछ । कतार जानुअघि उसले कनिकालाई यो कुरा बताइ पनि सकेको थियो – हामी जे गर्छौ त्यो संगै गर्छौ। अहिले चार्ली कतारबाट घरजमगर्ने हिसाबले फर्किएको थियो र कनिका पत्रकारिता छोडन तयार थिइन। यो पेशाले उसलाई समाजमा बाँच्नका लागि साहस दिएको थियो। सेन्स अफ डिग्निटी र ह्यूमन भ्यालुजहरु बुझेकी थिइ उसले। ऊ राम्री पुतली बन्न तयार थिइ। अर्काले नचाउने कठपुतली होइन।
 
कनिकाले आफनो समस्या सुदिप्तीलाई बताइ। सुदिप्तीको जवाफ थियो, ‘हेर केटी म्यारिज भनेको अण्डरस्ट्याण्डिंग हो। यो सम्वन्धमा तिमीहरु दुवै एडजस्टेवल हुनु पर्दछ। चार्लीले रोष्ट गरेको कफी प्याकिंग गर्नैका लागि त तेरो जन्म पक्कै भएको होइन होला। उसले एज अ रिपोर्टर तँलाइ स्वीकार गर्छ भने ठीक छ। यही बहानामा तँ हाम्रो गरीब पेशाबाट उम्किन चाहेकी होस् भने पनि ठीक छ। चार्ली कि जर्नलिज्म, च्वाइसगर्ने बेला भो तेरो। के गर्ने हो तेरै हातमा छ। हाललाइ भोडका तान्न मन लाग्यो मलाई। हिंड्, साथ दिन्नस् ?’

कनिकाले दुई दिन द्विविधामा बिताइ। त्यसपछि एक साँझ उसले चार्लीसँग सोधी, ‘व्हाट स्याल आइ डू नाउ ? आइ डोन्ट वान्ट टू क्विट जर्नालिज्म । इट इज स्याटिसफाईंग । अनि, हाम्रो विहे भएपछि तिमीले के भन्छौ ?’

चार्ली केही बोलेन । कनिकाले बुझी उसको कुराबाट खुशी थिएन चार्ली। यो पटक कनिका कमजोर थिइन। उसको मन दह्रो थियो। ऊ पनि केही बोलिन। सम्वन्धमा गतिरोध आउने नै हो भने चार्लीबाटै आओस भन्ने चाहन्थी ऊ। निकै बेरसम्म कनिका र चार्ली केही नबोली धुमधुमती बसे । त्यसपछि चार्ली उठ्यो। कनिका उठेर हिंडदै भनी, ‘म अफिस जानुछ।’

कनिकाको अफिस जानु थिएन । चार्लीको मन कनिकामा मात्रै अट्याच थिएन । उसलाई आफूले सुमर्न सक्ने स्वास्नी चाहिएको थियो । कनिका जस्तो एक्टिभिष्टसंग जीवन बिताउने आँट पनि थिएन उसमा। यही साँझदेखि कनिका र चार्लीको डिट्याचमेन्ट शुरु भयो। कनिकालाई कस्तो कस्तो लाग्यो। चार्लीले भावनाको तहमा के भोग्यो ? त्यो त थाह भएन। तर, ऊ कनिकासँग धेरै टाढियो। अनिकेत कनिकाको व्वाइफ्रेण्डका रुपमा देखिन सक्थ्यो। उ योग्य थियो, सुन्दर थियो तर प्रेमी थिएन।
 
अफिसमा बसेर तरंगहरुमा डुवी रहेकी थिइ कनिका। सुदिप्तीले सोधी, ‘तेरो मनबाट भूत निस्कियो कि निस्किएन ?’

कनिका हाँसी र भनी, ‘म तेरो डिसाइपल नै हूँ ।’ 

त्यसपछि उ मेलम्चीको पानीका नाममा फैलिएको धूलोकोे आतंकको रिपोर्टिंगका लागि हिंडी ।


(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)

यो सिरिजका थप गाथा
डस्टमाण्डुमा हेडलाइन खोज्दै कनिका ​​
काठमाडौंबाट आएका केटी पत्रकार भनेपछि स्टाइलबाटै चिनिन्छ 
छोटो स्कर्ट लाए पनि समस्या, क्लिभेज र कर्भ देखिए पनि समस्या ​
संसदमा कनिकालाई सांसदको सेक्सिस्ट रिमार्क
यसअघिका २९ गाथाको संग्रह एकै ठाउँमा, डाउनलोड गर्नुस् इबुक

 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell