
रियो दि जेनेरियो : ब्राजिलको आमाजनस राज्यको राजधानी मनाउसमा ५६ जना कैदीको उनीहरुकै प्रतिद्वन्द्वी समूहले हत्या गरेको खबर सेलाउन नपाउँदै रोराइमा राज्यमा शुक्रबार फेरि ३३ कैदी बन्दीको हत्या गरिएको छ।
रोराइमा राज्यको प्रशासनले स्थानीय ‘एग्रीकोला डे मोन्टी क्रिस्टो प्रिजन’ (पिएएमसी) मा रहेका दुई प्रतिद्वन्द्वी आपराधिक समूहबीच भएको झगडामा दुवै समूहका गरी ३३ कैदीको मृत्यु भएको छ।
रोराइमा राज्यका प्रवक्ताले प्राय सबैलाई धारिलो हतियारको प्रयोगद्वारा मारिएको बताए।
स्थानीय ‘फेमिली अफ नर्थ’ समूहलाई सघाउँदै आएको रेड कमाण्ड समूहका कैदीबन्दी रियो दि जेनेरियोको लागुऔषध कारोबार सञ्जालमा सहभागी शक्तिशाली समूह हो।
ब्राजिलमा कैदीबन्दी माथिको सुरक्षास्थितिलाई लिएर अधिकारकर्मीले निरन्तर आवाज उठाउँदै आएपनि जेलको सुरक्षास्थिति खस्किँदो छ। जेल सुरक्षा मजबुत बनाउन सरकार असफल रहेको पाइन्छ।
सरकारी अधिकारीले पछिल्लो समय आपराधिक गतिविधि बढ्दै गएका कारण जेलमा अध्यधिक चाप रहने गरेको र जेलको सुरक्षा स्थितिलाई मजबुत बनाउन झन्डै ५० प्रतिशत जनशक्ति थप गर्नुपर्ने बताएका छन्।रासस/एएफपी