इलाम : इलाम सदरमुकाममा व्यवस्थित बसपार्क निर्माण सुरू भएको पाँच वर्ष बितिसक्दा पनि अझै पूरा हुन सकेको छैन। ट्राफिक जाम व्यवस्थापनसँगै यात्रु र स्थानीयवासीलाई सहज हुने ठानिएको बसपार्क निर्माण थालिए पनि पर्याप्त बजेट विनियोजन नहुँदा सुस्त गतिमा मात्र काम भएको छ।
आव २०६८/६९ मा नै निर्माण सुरू भए पनि अपेक्षित बजेट नहुँदा काम ढिलो भएको हो। इनपा– ३ सेरामा निर्माणाधीन बसपार्कको काम पूरा गर्न कुल १० करोड लाग्ने अनुमान गरिरएको छ। तर हालसम्म चार करोडमात्र निकासा भएको छ।
सहरी विकास तथा आवास डिभिजन कार्यालयले दुई वर्षमा काम सक्ने लक्ष्य राखेर काम अघि बढाए पनि बजेट अभावले समस्या भएको जनाएको छ। ग्रिन बिल्डिङको अवधारणा अनुसार बसपार्क निर्माण हुने कार्यालयले जनाएको छ।
घेराबारा गर्नेसहित एप्रोज र इन्ट्रान्स रोडको काम सकिएको बसपार्कको तल्लो तहको काम भइरहेको छ। पानी व्यवस्थित गर्ने काम पनि यससँगै सम्पन्न हुने कार्यालयले जनाएको छ।
‘पर्याप्त बजेट नआएका कारण लक्ष्यअनुसार काम सम्पन्न गर्न नसकिएको हो,’ इन्जिनियर सुवर्ण चौधरीले भने, 'निर्माण पूरा भएपछि १८ वटा बस राख्न सकिनेछ।'
बसपार्क क्षेत्रमा १२ वटा ट्याक्सी पार्किङ गर्न सकिनेछ। बजारदेखि करिब दुई किलोमिटर टाढा रहेको बसपार्क बजारबासीका लागि अपायक भएको गुनासो छ।
‘नगरपालिकाले समग्र भूगोललाई हेर्नुपर्छ,’ कार्यकारी अधिकृत महेन्द्र खाम्याङले भने, 'बजार क्षेत्रमा व्यवस्थित बसपार्क बनाउने ठाउँ नभएको र बढ्दो सवारी साधनका कारण पनि यो स्थान नै उपयुक्त हो।’
बजार क्षेत्रमा रहेको हालको बसपार्कलाई ट्याक्सी पार्कको रूपमा प्रयोग गर्ने इलाम नगरपालिकाले जनाएको छ। बसपार्क निर्माण सुरू भएपछि त्यस क्षेत्रमा जग्गाको मूल्य वृद्धि हुनुका साथै धमाधम घर निर्माण हुने क्रमसमेत बढेको स्थानीय महेन्द्र चौहानले बताए।