PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भैरहवा विमानस्थल : थप गरिएको जग्गामा पार्किङ वे, ४५ वटासम्म प्लेनको ह्यांगर राख्न सकिने



उमेश पौडेल

भैरहवा विमानस्थल : थप गरिएको जग्गामा पार्किङ वे, ४५ वटासम्म प्लेनको ह्यांगर राख्न सकिने

काठमाडौं : भैरहवा क्षेत्रीय विमानस्थलमा थप गरिएको जमिनमा पार्किङ वे र प्लेनको मर्मत केन्द्र (ह्याङ्गर) बनाइने भएको छ। जग्गा अधिग्रहणको प्रक्रियामा रहेको विमानस्थल छेउको पाँच सय बिघा जमिनका लागि मुआब्जाको काम अन्तिम चरणमा पुगेको विमानस्थल आयोजना प्रमुख ‌ओम शर्माले बताए।
 
थप जग्गाका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको कार्यदलले १५ दिनभित्र मूल्यसहित सवै विस्थापितको तथ्यांक संकलन गरिसक्ने र त्यसपछि मुआब्जा वितरणको काम अगाडि बढ्ने उनको भनाइ छ।
 
उनका अनुसार थप जग्गामा ४५ वटासम्म प्लेनको ह्याङर राख्न सकिने क्षमताको रहनेछ। शर्माका अनुसार सवै विमानको एक/एकवटा प्लेन पार्किङ गर्न मिल्ने सुविधा रहनेछ। हाल नेपालमा ९ वटा आन्तरिक सहित २७ वटा अन्तराष्ट्रिय विमान कम्पनीले उडान भरिरहेका छन्।
 
आगामी एक सय वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै हवाई कम्पनीका लागि ह्याङ्गरको व्यवस्था सहित पार्किङ वे अट्ने जग्गाको स्पेस दिइने उनले बताए। आयोजनाको अहिलेसम्म ३० प्रतिशत मात्रै काम भएको छ।
 
विमानस्थललाई अन्तराष्ट्रिय स्तरको प्रविधिमैत्री र सुविधा वृद्धि गर्नका लागि 'क्याटोगोरी टु' मा अपग्रेड गरिनेछ। क्याटोगोरी टुमा अपग्रेड गरिएपछि 'एरो ब्रिज' बनाउने र 'रन वे सेन्टर लाइन लाइटिङ सिष्टम’मा स्तरोन्नति गरिने उनले बताए।
 
यात्रुले एरो ब्रिजको टर्मिनल भवनबाट सिधै जहाजमा चढ्न र जहाजबाट टर्मिनल भवनमा झर्न सक्नेछन्। धावनमार्गमा 'लाइटिङ सिस्टम क्याटेगोरी टु' को व्यवस्था भएपछि खराब मौसममा समेत जहाजहरु सहजै उडान र अवतरण गर्न सक्छन्।
 
एसियाली विकास बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो विमानस्थललाई चीनको नर्थ वेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन कम्पनीले भौतिक संरचना निर्माणको काम गरिरहेको छ। त्यस्तै दक्षिण कोरियाको योसिन इन्जिनियरिङ कन्सल्टेन्ट कम्पनीले डिजाइन र सुपरिवेक्षणको काम गरिरहेको छ। कोरियाकै योसिनले क्वलिटी कन्ट्रोलको काम गरेको छ।
 
यो विमानस्थल सन् २०१७ को डिसेम्बरमा सम्पन्न गर्नेगरी ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँमा चिनियाँ कम्पनीले ठेक्का लिएको थियो। तर परियोजनाको  अवधि र लागत बढिसकेको छ। यो विमानस्थलको लागत साढे ९ अर्ब पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell