PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

लक्ष्य फेरिएको भन्दै बाबुरामले सुनाए गाईको निबन्ध



पहिलोपोस्ट

लक्ष्य फेरिएको भन्दै बाबुरामले सुनाए गाईको निबन्ध

उदयपुर : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयता र शासकीय स्वरुपलाई लिएर 'नदीको नाममा गाईको निबन्ध लेखेजस्तो' गरिएको बताएका छन्।
 
आवश्यकतामा भन्दा पनि आफ्नो स्वार्थअनुसार जे लाग्छ त्यही गर्ने गरिएको भन्दै उनले एउटा निबन्ध पनि सुनाए। 'नेपालीको परीक्षामा निबन्ध आउँथ्यो, केही उदाहरणका रुपमा घोक्ने चलन थियो। एक जनाले गाईको सम्भावना छ भनेर घोकेर गए तर आयो नदीको। अनि उनले सुरु गरे- नदी हिमालबाट सुरु हुन्छ, पहाडका खोँच हुँदै मैदानमा पुग्छ। मैदानमा नदीका दुवै किनारामा राम्रो घाँस पलाउँछ। घाँस खान गाई आउँछ। गाईको चार खुट्टा हुन्छ, दुई कान हुन्छ... आदि इत्यादि।'
 
कतिपयमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीले समावेशी समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दैन कि भन्ने परेको भए पनि त्यहाँ झन् बढी सुनिश्चित हुने उनले बताए।
 
'मुलुकको समृद्धि र स्थिर सरकारका लागि प्रत्यक्ष जननिर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता' विषयक अन्तरक्रियाका लागि उदयपुरको गाईघाट आइपुगेका भट्टराईले त्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानैपर्छ अडान दोहोर्‍याए।
 
'प्रत्यक्ष निर्वाचित राष्ट्रपतिले आफ्नो सरकारमा सक्षम, विज्ञ, समावेशी मन्त्रीहरु राख्न सक्छ। संसदीय प्रणालीमा त्यो स्वतन्त्रता प्रधानमन्त्रीलाई हुँदैन, सत्ता गठबन्धनको ख्याल गर्नुपर्ने बाध्यता हुन्छ,' उनले प्रस्ट पारे।
 
निरंकुश हुने डर लागेको भए त्यसका लागि सन्तुलन मिलाउने प्रावधान राख्न सकिने उनको भनाइ छ। 'प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा भोट मागेर चुनाव जितेको एमाले प्रचण्डजीले खुट्टा छोडिदिएपछि संविधानमा छुट्न गयो, हामी टुलुटुलु हेर्न बाध्य भयौं। एमाले र प्रचण्डले नछोडेको भए कांग्रेस समेत दबाबमा पर्थ्यो,' उनले भने।
 
लक्ष्यको फेरबदल भएको भन्दै उनले लक्ष्य फेरिएपछि साधन पनि फेरिने तर्क गरे। 'काठमाडौं कारमा, बसमा जान सकिन्छ तर अमेरिका, बेलायत जान हवाइजहाजमा जानुपर्छ। म त कारमा काठमाडौं आएको कारमा नै अमेरिका जान्छु भनेर ढिपी गर्नुभयो भने तपाईं पुग्नुहुन्न। हाम्रो अबको लक्ष्य विकास र समृद्धि हो,' भट्टराईले भने। पहिलेका गल्ती नसच्याउने हो भने देश झन् कंगाल हुने र सबै अधोगतितिर जाने खतरा पनि उनले औंल्याए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell