
काठमाडौं : संविधान संशोधन प्रस्ताव सदनमा पेश गर्ने वा नगर्ने विवादबीच व्यवस्थापिका संसदको बैठक आइतवार पनि बस्दैछ । आइतवारको बैठकमा सत्तापक्ष संविधान संशोधन विधेयक टेवल गर्ने तयारीमा छ । प्रतिपक्ष मोर्चा संशोधन प्रस्ताव रोक्ने रणनीतिमा छ।
दुवै पक्षको टकरावका बीच सभामुख ओनसरी घर्तीले संसद् बैठक दिउसो १ बजेका लागि बोलाएकी छन्।
सत्तापक्ष र प्रतिपक्षबीचको आ–आफ्नै रणनीतिबीच बस्ने बैठकमा संसद् सचिवालयले भने पुरानै कार्यसूचीलाई सम्भावित कार्यसूचीमा प्रकाशन गरेको छ । जसमा निर्वाचन सम्वन्धी विधेयक पेश र संविधान संशोधन विधेयक संसद्मा पेश गर्ने कार्यसूची रहेको छ । अख्तियारका निलम्विन प्रमुख आयुक्त लोकनमासिंह कार्कीविरुद्धको महाभियोग सूचनामाथिको छलफल पनि जारी रहने कार्यसूची छ।
छलफल नै नगरी समय बित्यो
संविधान संशोधन, निर्वाचनलगायतका विषयमा राजनीतिक सहमतिका प्रमुख दलका शीर्ष नेताहरुले सभामुख ओनसरी घर्तीसँग माग गरेको ६ दिनको समय त्यतिकै सकिएको छ । दलहरुबीचमा कुनै औपचारिक परामर्श बिना नै समय सकिएको हो। गत बिहीवार राष्ट्रपति बिद्यादेवी भण्डारीले दलका नेताहरुलाई बोलाएर भएको छलफलबाहेक दलका तर्फवाट कुनै पनि परामर्श यसबीचमा भएन । सरकारका तर्फवाट सदनको अवरोध हटाउने विषयमा असन्तुष्ट प्रतिपक्ष मोर्चासँग छलफल नभएको हो।
तर, रणनीतिक रुपमा सत्तापक्ष र प्रतिपक्ष दुवै मोर्चाका छलफलहरु भएका छन् । सत्तारुढ दलहरुले आइतवारको संसद्मा संशोधन विधेयक टेवल गर्ने तयारीमा छन् । प्रतिपक्ष मोर्चाले विधेयक टेवल भए स्थिती सहज नहुने चेतावनी दिएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस र मधेशी मोर्चाका नेताबीच संशोधन प्रस्ताव अघि बढाउने सहमति भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सीमाङ्कन स्थगनसम्मलाई प्रक्रियामा सामेल हुने जनाउ दिएको छ । तर, दलहरुबीचमा सम्भावित विकल्पवारे पनि छलफल भएको छैन।