पोखरा : लायन्स क्लब अफ पोखरा माछापुच्छ्रेले लमजुङको सुन्दरबजार–१३ कुन्छामा रहेको शान्ति माध्यमिक विद्यालयलाई रु छ लाख मूल्य बराबरको जिन्सी सामग्री सहयोग गरेको छ।
विद्यालयको प्राङ्गणमा शनिबार आयोजित कार्यक्रममा क्लबले नगद, कम्प्युटर, फर्निचर, शैक्षिक र खेलकुदका सामग्री सहयोग गरेको छ।
क्लबका अध्यक्ष सुदर्शन वाटाजुले आफ्ना हजुरबुबा स्व काजीप्रसाद वाटाजु र स्व दाजु प्रेमकिशोर वाटाजुको स्मृतिमा विद्यालयमा रु एक लाखको अक्षयकोष स्थापनाको घोषणा गरेका छन् । नेपाल लायन्स फाउन्डेसनले पनि रु ५० हजार सहयोग गरेको छ।
विद्यालयलाई आठवटा कम्प्युटर, फोटोकपीसहितको एक प्रिन्टर, ११ कुर्ची, १० वटा टेबल, शैक्षिक र खेलकुद सामग्री सहयोग गरिएको थियो ।
कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ वी वानका गभर्नर बालकृष्ण बुर्लाकोटीले विद्यालयका प्रधानाध्यापक विपिनकुमार ठाकुर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनकराज मिश्रलाई सामग्री संयुक्त रुपमा हस्तान्तरण गरेका थिए। रासस