
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा बिचाराधीन मुद्दाको बहस आज सकिँदैछ । गत शुक्रवार नै बहस सक्ने अदालतको तयारी भएपनि लगाउ कायम भएका पूर्वसचिव प्रमोदकुमार कार्की र काठमाडौं महानगरपालिका वडा नं १० सचिव सरिता राई समेतको अपहेलना मुद्दाको बहस लम्विएपछि आज पनि बहस हुन लागेको हो।
न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाई हुनेछ।
शुक्रवारसम्म बिपक्षी कार्की र अपहेलना मुद्दाका सवै प्रतिवादी तर्फका कानुन व्यवसायीको बहस सकेका छन् । आज निवेदक ओम प्रकाश अर्याल तर्फवाट केही कानुन व्यवसायीले जवाफ दिएपछि बहस सकिनेछ।
बहस सकिएसँगै अदालतले संक्षिप्त ठहर आजै सुनाउने सम्भावना छ । लिखित बहसनोटका लागि कुनै पक्षले समय माग नगरेमा संक्षिप्त ठहर आज नै गर्नेगरी तयारी गरिएको अदालत स्रोतको भनाई छ।
पुस ७ गते ‘लिड जज’ परिवर्तन गर्दै अदालतले कार्कीविरुद्धको मुद्दाको सुनुवाई अघि बढाएको थियो । त्यसअघि न्यायाधीश जगदीश शर्मा पौडेलले लिड गरिरहेको इजलासको जिम्मेवारी प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई सुम्पिएकी थिइन्।