PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​उपभोक्ता आफैले बनाए सभाहल, २६ लाख रुपैयाँ लागत



पहिलोपोस्ट

रामपुर (पाल्पा) : राम्चे सामुदायिक वन उपभोक्ता समूह रामपुरले सभाहल निर्माण गरेको छ । सहरोन्मुख बन्दै गरेको जिल्लाको दोस्रो व्यापारिक केन्द्र रामपुर क्षेत्रको आवश्यकतालाई मध्यनजर गर्दै उपभोक्ताले यस क्षेत्रकै ठूलो सभाहल निर्माण गरेका छन्। 

समुह कोषको रु २६ लाखको लागतमा ३५० जना अट्ने क्षमता रहेको सभाहल निर्माण गरेको समूहका अध्यक्ष कीर्तिनाथ श्रेष्ठले बताए। 

बढ्दो सहरीकरणसँगै यहाँ आयोजना हुने विभिन्न सभा, सेमिनार, गोष्ठी, बैठक र सम्मेलनजस्ता कार्यको आवश्यकतालाई मध्यनजर गर्दै सभाहल निर्माण गरिएको समितिका सदस्य काशीनाथ रेग्मीले बताए। 


प्रथम रामपुर महोत्सवको तयारी पूरा

रामपुरमा सञ्चालन हुन लागेको प्रथम रामपुर महोत्सवको तयारी पुरा भएको छ । कालीगण्डकीबेँसीकै महत्वपूर्ण उपत्यकाका रुपमा रहेको पाल्पाको दोस्रो व्यापारिक केन्द्र रामपुरमा यही पुस २७ देखि माघ ८ गतेसम्म मेलाको आयोजना गरिएको छ। 

‘शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, पर्यटन र उद्योगको पूर्वाधार : रामपुर क्षेत्रको विकासको आधार’ भन्ने मूल नारासहित रामपुरमा सञ्चालन हुन लागेको प्रथम रामपुर महोत्सव तथा व्यापार मेलामा गठित ३४ वटा विभिन्न उपसमितिले आफ्ना कामलाई तीव्रता दिएका छन्। 

रामपुरका विभिन्न ठाउँ ठाउँमा आमा समूह, महिला समूह, क्लबलगायतका विभिन्न सङ्घसंस्थाद्वारा बाटो, चोक सरसफाइ, प्रवेशद्वार निर्माणका काम धमाधम भइरहेका छन् । यसले झन महोत्सवको रौनकता बढाएको छ। 

यस महोत्सवमा कालीगण्डकीबेँसीको सुन्दर दृश्यावलोकनका निम्ति हेलिकप्टरको व्यवस्था, संसारकै ठूलो र अनौठो हात्ती, अस्ट्रिज चरा, अजिङ्गरलगायतका जीव जनावर भएको चिडिया घर, हात्तीबाट बजार सयर गराउने व्यवस्था रहेको छ । महोत्सवमा दुई लाख दर्शकले मेला अवलोकन गर्ने र रु १० करोड बराबरको कारोबार गर्ने मूल आयोजक समितिका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए। 
यस महोत्सवले रामपुर क्षेत्रको व्यापारिक तथा पर्यटकीय क्षेत्रमा ठूलो टेवा पुग्ने देखिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell