गाईघाट (उदयपुर) : सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको हर्देनी–३ गहुँबारीमा बलेरो जिप दुर्घटना हुँदा घाइते भएकाहरुको र्चको सम्पूर्ण जिम्मा राज्यले व्यवस्थापन गर्ने भएको छ। खर्च अभावमा उपचार हुन नसकेर सम्बन्धित अस्पतालहरुले घाइतेलाई उपचार नगर्ने भएपछि ती घाइतेको उपचार राज्यले बेहोर्ने भएको हो।
सम्बन्धित अस्पतालहरुले पहिला नै रकम जम्मा गर्नुपर्ने बताएपछि बिरामीका आफन्तले आर्थिक स्रोत जुटाउन सकेका थिएनन्।
उपचारको पहल गरिदिनका लागि इप्रका, कटारीले उदयपुरका सांसद भेषकुमारी राउत (कोपिला) को ध्यानाकर्षण गराएपछि सांसद राउतको पहलमा गृहमन्त्रालयसँग छलफल गरेर सो उपचारको खर्च गृहमन्त्रालयले व्यहोर्ने सर्तमा अहिले बिरामीको उपचार हुन थालेको सांसद राउतले बताइन्।
अधिकांश घाइतेको मस्तिष्क र टाउकोको उपचार गर्नुपर्ने हुँदा प्रतिबिरामीको उपचारका लागि तत्काल रु पाँच लाखभन्दा बढी उपचार लाग्ने बताइएको छ।
शुक्रबार हर्देनीमा जिप दुर्घटना हुँदा हर्देनीकै ३८ वर्षीय विष्णुबहादुर राउत, ३० वर्षीय भेषराज राउत, ४० वर्षीय निरबहादुर कार्की, ४६ वर्षीय रेशम कार्की, १७ वर्षीया एलिना श्रेष्ठ र १४ वर्षीय विमल बस्नेत गम्भीर घाइते भएका थिए। सख्त घाइतेमध्ये निरबहादुर कार्कीलाई विराटनगरको नोबेल अस्पताल र एलिना श्रेष्ठलाई काठमाडौँको ग्रान्डी अस्पताल तथा अन्यलाई विराटनगरको न्युरो अस्पताल पठाइएको इप्रका, कटारीले बताएको छ।
जिप दुर्घटनामा गाडी मालिक ३४ वर्षीय टङ्कबहादुर बस्नेत र ३२ वर्षीय भीमकुमारी राउतको घटनास्थलमा नै मृत्यु भएको थियो भने अर्का निरबहादुर कार्कीको काठमाडौँमा मृत्यु भएको इप्रका कटारीका प्रमुख चिरञ्जीवी कोइरालाले बताए।