
- अनन्तराज न्यौपाने
भारतमा गत आइतबार नै भारु सटहीको समय सकिएको थियो। भारतको विदेशमन्त्रालयले नेपाल सरकारलाई पत्र लेखेर वार्ताका लागि बोलाएको हो। गभर्नर डा. चिरञ्जीवी नेपालले विराटनगरमा आयोजित पत्रकारसँगको भेटमा यो जानकारी दिएका हुन्। उनले भने, ‘हाम्रो वार्ता टोली केही दिनमै भारत जाँदैछ।’
वार्तामा बोलाएपनि नेपालीसँग रहेको भारु साटिने अन्योल भने कायमै छ। बैंकिङ प्रणालीमा रहेको ३ करोड ३२ लाख भारु छ। भारतसँग खुला सीमा, ६५ प्रतिशत व्यापार र ४० लाखभन्दा बढी नेपाली भारतमा काम गर्ने भएकोले नेपालीसित प्रतिबन्धित भारु ठूलो परिमाणमा हुन सक्ने अनुमान गरिएको छ। नेपालीसँग रहेको भारु साटिने बारेमा गभर्नर नेपालनै आश्वस्त छैनन्।
भारत सरकारले डेढ वर्षअघि प्रत्येक नेपाली नागरिकले भारु पाँच सय र एक हजारका नोट २५ हजारसम्म राख्न स्वीकृति दिएको बताउँदै गभर्नर नेपालले नेपाली प्रतिनिधिमण्डलले यही आधार टेकेर वार्ता गर्ने बताए।
‘भारतीय निर्णयले हामीले भारु मात्र होइन डलर, युआन लगायतका कुनै पनि विदेशी नोट राख्नुहुँदैन’, उनले भने, ‘अर्काको मुद्रा राख्दा उनीहरुले गर्ने निर्णयले क्षति बेहोर्नुपर्छ।’
मोदीले नोटबन्दीको भाषण गरिरहेका बेला भारतीय राजदूत रञ्जित रेले समेत भारतीय मुद्रा सटहीका बारेमा छलफल भएको नेपालले बताए। गभर्नर नेपालले यहाँका व्यवसायीले छिटै पैसा कमाउने लोभमा व्यापारलाई प्राथमिकता दिएको बताउँदै उत्पादनमूलक उद्योगमा लगानी नगरेको टिप्पणी गरे।