PahiloPost

Nov 15, 2024 | ३० कात्तिक २०८१

मेलम्ची सपना : २५ वर्षमा हुन नसकेको काम दुर्इ वर्षमा यसरी सकिँदैछ



उमेश पौडेल

मेलम्ची सपना : २५ वर्षमा हुन नसकेको काम दुर्इ वर्षमा यसरी सकिँदैछ

काठमाडौं : २५ वर्षअगाडि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना पछिल्लो दुर्इ वर्षमा कसरी द्रुत गतिमा काम भयो?
 
२५ वर्षदेखि कछुवागतिमा निर्माण गरिरहेको 'कन्स्ट्रक्सन कम्पनी'को खारेजी र नयाँ कम्पनी नियुक्ति नै हो यसको सही जवाफ हुन सक्छ।
 
सरकारले चाइना रेल्वे कर्पोरेशनसँग टेन्डर खारेज गरेर नयाँ टेन्डर गर्‍यो। नयाँ टेन्डरबाट छनौट भए, इटालियन कोअपेराटिभा मुरातोरी एन्ड केमेन्टेस्टी (सिएमसी) र भारतको दि राभेना। यो दुर्इ कम्पनीले मेलम्ची निर्माणलार्इ द्रुत गतिमा अघि बढाए।
 
पछिल्लो दुर्इ वर्षको अवधिमा मेलम्ची निर्माणले ठूलो फड्को मारिसकेको छ र असोज महिनामै राजधानीवासीले खानेपानी पाउँदैछन्। नयाँ निर्माण कम्पनीले मेलम्ची निर्माणको निश्चित 'टार्गेट सेट' गर्‍यो। तोकिएको समयमा मेलम्चीको निर्माण सक्न कामदारलार्इ १७ महिनाको थप बोनस दियो।
 
'हामीले राम्रोसँग बुझेका छौं, कामदारलाई उनीहरुको मेहनत अनुसारको तलब र सुविधा दिएमा काममा ठग्दैनन्,' साइट मेनेजर जिओर्जियोले भने, 'दुर्इ सय कामदारले दिनरात नभनी काम गरे। त्यसको प्रतिफल देखिँदैछ।'
 
तीन वर्ष पहिले चाइना रेल्वेले बनाएर बाँकी रहेको मेलम्चीको २० किलोमिटर लामो सुरुङ तीन वर्षभित्र सक्ने प्रतिबद्धता सहित सिएमसीले ठेक्का लिई काम गरिरहेको छ। भूकम्प र नाकाबन्दीका कारण करिब एक वर्षसम्म सुरुङ निर्माणमा अवरोध भएपछि मेलम्ची खानेपानी विकास समितिले ६ महिनाको म्याद थप गरेको छ। कम्पनीले त्यही ट्रार्गेटमा काम गरिरहेको छ।
 

तीनमध्ये एउटा मात्र 'ब्रेक थ्रु'

आयोजनालाई अन्तिम रुप दिनका लागि इन्जिनियरिङ र त्यहाँका कर्मचारीहरुले टार्गेट सेट गरेका हुन्छन्। आयोजनाले जटिल भनेको ग्याल्थुम र मेलम्चीको बीचमा रहेको २७ सय ८५ मिटर लामो सुरुङ सहित अझै दुई वटा ब्रेक थ्रु गर्न बाँकी छ।
 
यो सुरुङमा कमलो चट्टान भेटिएकाले काम गर्न अप्ठेरो परिरहेको त्यहाँ कार्यरत इन्जिनियरले बताएका छन्। ग्याल्थुम र सिन्धुको बीचमा २६ सय ४४ मिटर लामो सुरुङ खन्न बाँकी छ।
 
सुन्दरीजलदेखि सिन्धुसम्मको सुरुङ निर्माण भएपछि सरकारले घोषणा गरेको तालिकाअनुसार पानी आउने आधार मिलेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताए।
 

अब कसरी बढ्छ काम?

सुन्दरीजल र सिन्धुमा भएका सम्पूर्ण उपकरण तथा जनशक्ति सिन्धुबाट ग्याल्थुम अडिट र ग्याल्थुमबाट मेलम्चीतर्फको दुई वटा सुरुङमा लगिने एडिबीकी सिनियर प्रोजेक्ट अफिसर लक्ष्मी शर्माले बताइन्।
 
एडिबीका अनुसार एक स्थानको मेसिनरी पाटपुर्जा बिग्रियो भने अर्को स्थानको रिप्लेस गरेर सहयोग गर्न र कामलाई सुचारु गरिराख्न सहयोग हुनेछ। पहिले सुरुङलाई तीन खण्डमा विभाजन गरी काम थालिएको थियो।
 
सुन्दरीजलदेखि सिन्धुको साढे ९ किलोमिटर सुरुङ खन्ने काम पूरा भएको हो। यो सँगै २६ किलोमिटर सुरुङमा २० दशमलव ३८५ मिटरमा काम सकिएको र ५ दशमलव ५ किलोमिटर सुरुङ खन्न बाँकी रहेको आयोजनाका आवासीय इन्जिनियर दिवश श्रेष्ठले बताए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell