
काठमाडौँ : रेडबुल फुटसल लिगको उपाधि संखमुल फुटसलले जितेको छ। बासबारीस्थीत चौर फुटसलमा शनिबार भएको फाइनलमा सामाखुसी फुटसललाई ३–२ गोल अन्तरले हराउँदै शंखमुलले पहिलो पटक भएको फुटसलको उपाधि जितेको हो।
संखमुलको जितमा कप्तान संजोग चाम्लिङ राई, रोनिल महर्जन र शेर बहादुर थापाले १/१ गोल गरे। सामाखुसिका कप्तान नविन लामा र सौरभ मगरले गोल गरेपनि जितका लागि पर्याप्त भएन।
शंखमुललाई शेर बहादुर थापाले गोल गर्दै शुरुवाती ३ मिनेटमै अग्रता दिलाए। त्यो अग्रता लामो समयसम्म टिक्न सकेन। सामाखुसिका नविन लामाले खेलको ६ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए।
खेलको ११औँ मिनेटमा रोनिल महर्जनले गोल गर्दै पुनः संखमुललाई अग्रता दिलाए। २२औँ मिनेटमा संजोग चाम्लिङ राईले ब्यक्तिगत पहिलो गोल गर्दै शंखमुललाई ३–१ ले अगाडी बढाए। २६औँ मिनेटमा सामाखुसिका सौरभ मगरले गोल गर्दै खेलमा फर्कने प्रयास गरेपनि थप गोल गर्न नसक्दा संखमुलले ३–२ ले जित हात पारेको हो।
एमए इभेन्ट्सको आयोजनामा पहिलोपटक भएको लिग फुटसल विजेता शंखमूल फुटसलले १० लाख रुपैयाँ हात पार्यो उपविजेता सामाखुसीले ५ लाख रुपैयाँमै चित्त बुझाएको छ। विजेता टोलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नगद, ट्रफी तथा प्रमाणपत्र प्रदान गरेका थिए।
सामाखुसीका नवीन लामा प्रतियोगिताको 'सर्वोकृष्ट खेलाडी' घोषित भए भने किक अफ फुटसलका तेजेन्द्र सिंह थापा प्रतियोगिताको 'सर्वोकृष्ट गोलरक्षक' चुनिए। सर्वोकृष्ट घोषित दुवै खेलाडीले ५०/५० हजार रुपैयाँ प्राप्त गरे।
होम एण्ड अवेको आधारमा गत असोज १० बाट सुरु भएको लिगमा कुल १६ टिमको सहभागीता रहेको थियो।