
काठमाडौं : प्रमुख प्रतिपक्षी एमालेले कार्यसूचीमा स्थानीय तह निर्वाचन विधेयक पहिलो प्राथमिकतामा राखिए संसद चल्न दिने भएको छ।
आज बसेको संसदीय दलको बैठकले संविधान संशोधन प्रस्तावअघि आएका निर्वाचनसम्बन्धी विधेयकलाई पारित गर्न सघाउने तर संशोधनमाथिको छलफललाई भने चल्न नदिने निर्णय गरेको हो।
कार्यसूचीअनुसार संसदमा कसरी अघि बढ्ने भन्ने निर्णय भएको नेता रेवती रमण भण्डारीले जानकारी दिए।
संसदको आजको कार्यसूचीमा निर्वाचन सम्बन्धी विधेयक पहिलो र दोस्रो नम्बरमा छ। त्यसपछि मात्र संविधान संशोधनको विधेयक र महाभियोगको कार्यसूची छ।
संविधान संशोधन प्रस्ताव गत मंसिर १४ गते संसद सचिवालयमा दर्ता भएको थियो। त्यसयता एमालेल संसद बैठक अवरोध गर्दै आएको छ। सत्तापक्षले भने मधेसी मोर्चासँग संविधान संशोधन प्रस्ताव टेबल गरेरै छाड्ने प्रतिबद्धता जनाउँदै आएका छन्।
अहिले पनि सभामुख ओनसरी घर्तीले तीन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमतिका लागि छलफल गरिरहेकी छिन्।