
काठमाडौं : शसस्त्र प्रहरी बलको एपीएफले विभिन्न खेलका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गरेको छ। आइतबार सशस्त्र प्रहरी बल प्रधान कार्यलय हलचोक आयोजिक कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले खेलाडीहरुलाई सम्मान गरेका हुन्।
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत रहेका महानिरीक्षक राईले करातेतर्फ सुनिल लामा, बक्सीङ्तर्फ सरस्वती राना र पूर्णबहादुर लामा, भलिबलतर्फ सरस्वती चौधरी, फुटवलतर्फ रञ्जन विष्ट र अञ्जन विष्ट गरी ६ जना खेलाडीहरुलाई ‘मोष्ट भ्यालुएवल’ प्लेयर तथा कराते प्रशिक्षक दिपक श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षकको अवार्ड प्रदान गरे।
यस्तै अन्य विभिन्न विद्याका खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर’ अवार्ड प्रदान गरियो।
प्लेयर अफ दी इअरबाट सम्मानित हुनेमा मिलन राई (पुरुष फुटबल), अनिता बस्नेत (महिला फुटबल), महेन्द्र श्रेष्ठ (पुरुष भलिबल), विनिता बुढाथोकी (महिला भलिबल), विशाल प्रधान (पुरुष ब्याडमिन्टन), शिक्षा श्रेष्ठ (महिला व्याडमिन्टन), बसन्त रेग्मी (पुरुष क्रिकेट) र करुणा भण्डारी (महिला क्रिकेट) मनोज ठगुन्ना (पुरुष ह्याण्डबल), उमा राई (महिला ह्याण्डबल), पुरन राई (पुरुष बक्सिङ), माला राई (महिला बक्सिङ), विजय लामा (पुुरुष कराते), अनु अधिकारी (महिला कराते), भरत बोहरा (पुरुष तेक्वान्दो) र अप्सरा कार्कीले (महिला तेक्वान्दो) छन्।
यसैगरी पुरुष उसुतर्फ मंगलप्रसाद थारु, महिला उसुतर्फ सुस्मिता तामाङ, पुरुष एथलेटिक्सतर्फ गोविन्द पार्की, महिला एथलेटिक्सतर्फ कान्छीमाया कोजु, पुरुष टेवुल टेनिसतर्फ शिवसुन्दर गोठे, महिला टेवुल टेनिसतर्फ सेलिखा खड्की, आईटीएफ टेक्वान्दोतर्फ श्यामकृष्ण श्रेष्ठ र जुडोतर्फ देविका खड्का ‘एपीएफ प्लेयर अफ दी इअर’ घोषित भएका छन्।
यसैगरी एपीएफका कलाकारहरु राजिव बज्राचार्य र अनिता रञ्जितकार समेत सोही विशेष समारोहमा सम्मानित भएका छन्।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलका खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरी संगठन र देशको नाम उच्च राखेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले उक्त विशेष समारोहमा नेपाल एपीएफ क्लवको पुरुष फुटबल टिमलाई पाँच वर्षका लागि एक करोड ११ लाख रुपैयाँको प्रायोजन सम्झौताका साथै सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सो क्लवका खेलाडीहरुलाई खेल पोशाक तथा ट्रयाकसुट उपलब्ध गराउने अग्नी ग्रुप काठमाडौंका डाइरेक्टर अर्जुन शर्मालाई कदर पत्र प्रदान गरे।
सोहि अवसरमा नेपाल एपीएफ क्लबलाई सहयोग पुर्याउने एन्फाका महासचिव धिरेन्द्र प्रधान, चौधरी ट्रेडर्सका प्रमोदप्रसाद चौधरी र आर.जे. स्पोर्टसका रमेश रुपाखेतीलाई समेत सशस्त्र प्रहरी महानिरीक्षक राईले कदर पत्र प्रदान गरे।
२०६१ साल बैशाख ३१ गते स्थापना भएको नेपाल एपीएफ क्लवले हाल विभिन्न विद्याका २६ खेलमा आफ्नो सहभागिता जनाउँदै आएको छ।
सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिता संचालन हुँदै आइरहेको छ।
नेपाल एपीएफ क्लबका खेलाडीहरुले हालसम्म विभिन्न अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितमा ४२ स्वर्ण, ३० रजत र २७ कास्य पदक प्राप्त गरेको छ । यसैगरी राष्ट्रिय स्तरमा ७१४ स्वर्ण, ५८३ रजत र ५७९ कास्य गरी कुल १ हजार ९ सय ७५ पदक हासिल गरेको छ।