काठमाडौँ : ओखलढुङगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आइतबार पत्रकार सम्मेलन गर्दै घडी काण्डबारे स्पष्टीकरण दिएका छन्।
बुधबार होटल र्याडिसनको जिमको लकरबाट हराएको पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवलमानसिंह गुरुङको १४ लाख पर्ने रोलेक्स घडी उनले तीन दिनपछि आफ्नो गोजीमा परेको भन्दै फिर्ता बुझाएका थिए।
उनले आफूले घडी नचोरेको र कसैले चरित्र हत्या गरेको जिकिर गरे। खतिवडाको गोजिमा कसरी पुग्यो त घडी ? पत्रकार सम्मेलनमा उनले यस्तो बताए-
त्यो दिन उपत्यका बन्द थियो। गृहजिल्ला जानु पर्ने भएकाले म चाँडै नै निस्किएँ। त्यहीँ लगाएको ट्राउजर व्यागमा हालेँ। मसँगै जिम गरिरहेका साथी सुनिल शर्मा र सिमान्त गुरुङलाई म गएँ है भन्दै निस्किएको थिएँ।
श्रम मन्त्रालयमा काम भएकाले त्यहाँ पुगेर काम सकिएर म साढे १२ बजेतिर ओखलढुङ्गा लागेँ। त्यतिबेरसम्म मलाई कसैको घडी हराएको केही जानकारी थिएन। राति ११ बजेतिर घर पुगेँ र खाना खाएर सुतेँ।
बिहीबार ओखलढुङगाको रुम्जाटारमा अपाङहरुको खेलकुद कार्यक्रम थियो। दिन भर त्यही कार्यक्रममा व्यस्त भएँ। बेलुका घर फर्किएँ।
पुस महिना भएकाले जाडो जाडो थियो। व्यागमा हालेको ट्राउजर लगाउन खोज्दा गोजीमा घडी भेट्टाएँ। त्यसपछि कसको घडी होला भनेर मैले सिमान्त गुरुङलाई फोन गरेँ। उहाँले फोन उठाउनु भएन।
त्यसपछि मैले सुनिल शर्मालाई कल गरेँ। उहाँले पनि रोलेक्स घडी लगाउनु हुन्थ्यो। उहाँले आफ्नो घडी नभएको बताएपछि मैले सिमान्तको अर्को नम्बर मागेर कल गरेको हुँ। सिमान्तले पनि आफ्नो घडी नभएको र कसैको भए शुक्रबार फर्किए दिए हुन्छ भने। त्यसपछि म शुक्रबार बिहानै काठमाडौँ आएँ।
काठमाडौँ पुग्दा रात परिसकेको थियो। शनिबार बिहानै गएर र्याडिसनको काउन्टरमा बुझाएको हुँ।
खतिवडाले आफ्नो चरित्र हत्या गर्न कसैले आफ्नो गोजीमा घडी राखिदिएको आरोप लगाएका छन्। त्यो दिन जिममा १२ देखि १५ जना मानिस मात्र आएकाले त्यस मध्येको केही व्यक्तिले त्यसो गरेको र पहिचान समेत भइसकेको जानकारी उनले दिए।
उनले भने, ‘घडी हराएको दिन एक जनाले भेटिहालिन्छ भन्दै थिए रे, उनलै हालेको हुनपर्छ। मैले काउन्टरमा बस्नेलाई पनि सोधेको थिएँ। एक जनाले भेटिहालिन्छ भन्यो। म कसैको चरित्र हत्या गर्न चाहँदिन प्रमाणसहित फेला परेपछि मानिसको नाम भन्छु।
'एक पल्ट गोली हानेर मारेको भए बरु मरेको मर्यै हुन्थ्यो तर मलाई जीवन भर मार्ने काम गरियो', सांसद खतिवडाले अगाडि भने, 'जिम क्लबमा अरु पनि मानिस थिए उनीहरुले मेरो गोजीमा हालिदिएको हुनसक्छ।' यस विषयमा आफैले पनि अनुसन्धान गर्ने र प्रहरीलाई पनि अनुसन्धान गर्न आफूले आग्रह गरेको उनले बताए।
पत्रकार सम्मेलन उनीसँगै रहेका सिमान्त गुरुङले पनि सांसद खतिवडाले शुक्रबार फोन गरेको बताए। ‘उहाँले फोन गरेर घडी आफ्नो गोजीमा कस्ले हालेको रहेछ भन्ने जानकारी दिनुभएको थियो’ गुरुङले भने।
क्लबमा लकरको चाबी भएपनि खतिवडाले चाबी लगाएर त्यहीँ छोड्ने गरेको उनले बताए।