
धनगढी : आयोजक सुदूरपश्चिम-११ स्पोर्टस क्लब धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रीत सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।
धनगढी रगशालामा आईतबार भएको खेलमा भारतको पन्जाव ११ लाई ५-० गोल अन्तरले पराजित गर्दै सुदूरपश्चिम ११ अन्तिम चारमा प्रवेश गरेको हो । सुदूरपश्चिमको जितमा मनिराम चौधरीले ह्याट्रिक गरे भने प्रयण्य अन्जान र सुमीत दुवेले १/१ गोल गरे।
पहिलो हाफको १४ औं मिनेटमा गोल गरेका मणीरामले पहिलो हाफको ४३ औं मिनेटमा दोस्रो गरे। दोस्रो हाफको ५९ औं मिनेटमा तेस्रो गोल गर्दैै उनले ह्याट्रिक पुरा गरे। म्यान अफ द म्याच घाषित मनिराम चौधरीलाई नगद ५ हजार हात पारे।
सुदुरपश्चिम ११ का लागि पहिलो हाफको ३८ औं मिनेटमा सुमित दुवे र दोस्रो हाफको इन्जुरी टाइममा प्रयण्य अन्जानले गोल गरेका हुन।
जितपछि प्रतिक्रिया दिँदै सुप ११ का कप्तान गजेन्द्र शाहीले सवै खेलाडीहरुको समन्वय र मेहनतले सानदार जित हासिल गर्न सफल भएको बताए। पञ्जाव फुटबल क्लबका कप्तान रिमी मेहराले आफुहरुको तालमेल नमिलेका खेल गुमाएको प्रतिक्रिया दिए।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो खेलमा संकटा क्लब र जगदम्वा लुम्बिनी तथा दोस्रो खेलमा दिल्ली युनाईटेड र सहारा क्लब पोखराबीच प्रतिस्पर्धा हुनेछ।
पुस २१ गतेदेखि शुरु भएको गोल्डकप आगामी माघ १ गतेसम्म संचालन हुनेछ। गोल्डकप बिजेताले ५ लाख र उपबिजेताले २ लाख ५१ हजार पुरस्कारको प्राप्त गर्नेछन्। गोल्डकपमा भारतका २, भुटान १ र नेपालका ९ गरी १२ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
(फोटो : सीताराम अोझा)