तिलोत्तमा (रुपन्देही) : रुपन्देहीमा रहेका दुई अस्पतालमा निःशुल्क डायलाइसिस सेवा सुरु भएको छ।
स्वास्थ्य मन्त्रालयको निर्देशनपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवल र भैरहवामा रहेको सिद्धार्थ नगर सिटी हस्पिटलले उक्त सेवा सुरु गरेका छन् । सरकारले निःशुल्क मिर्गाैला डायलाइसिसको लागि अनुमति दिएसँगै यी अस्पतालले सेवाको सुरुवात गरेका हुन्।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले निःशुल्क डायलाइसिसका बिरामीको नियमित रुटिन परीक्षण पनि निःशुल्क गर्ने भएको छ । डायलाइसिसका बिरामीले हरेक महिना रुटिन परीक्षण र तीन महिनामा एचबिएसएजी, एचसिभी र एचआइभी परीक्षण गर्नुपर्ने हुन्छ । बिरामीको नियमित अवस्था थाहा पाउन सिबिसी, आरएफटी, प्लेटलेस, क्याल्सियम, फस्फोरस्, युरिक एसिड, लिपीड प्रोफाइल, टोटल प्रोटिन, एल्बुमिन, ब्लड सुगरलगायतको परीक्षण गर्नुपर्ने अस्पतालले जनाएको छ।
सरकारले मिर्गाैला डायलाइसिस निःशुल्क गरे पछि आर्थिक अभावको कारण अन्य परीक्षण गर्न नसक्ने बिरामीलाई यो निर्णयले ठूलो राहत मिल्ने अस्पतालले जनाएको छ । अस्पतालका अध्यक्ष एजाज आलमले रुटिन परीक्षणको लागि प्रतिबिरामी वार्षिक करिब रु ४० हजार रकम लाग्ने जानकारी दिए।
सरकारले यसअघि निःशुल्क डायलाइसिसको अनुमति दिएका सरकारी अस्पतालले समेत रुटिन परीक्षण निःशुल्क नगरेको र गौतमबुद्ध सामुदायिक अस्पताल नै निःशुल्क घोषणा गर्ने पहिलो रहेको अस्पतालले दाबी गरेको छ।
नेपालका करिब तीन करोड जनसंख्यामध्ये १० प्रतिशतअर्थात करिब ३० लाख जनाको मिर्गाैलामा कुनै न कुनै समस्या रहेको बताइन्छ । तीस लाखको १० प्रतिशतअर्थात तीन लाखमा यो समस्या अझै ठूलो छ। रासस