काठमाडौं : व्यवस्थापिका संसद्को बैठक आज पनि बस्दैछ । आइतवार प्रतिपक्ष दलको अवरोधबीच बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो । दिउसो १ बजे बैठक बोलाइएको छ । बैठकमा निर्वाचन सम्वन्धी दुई विधेयकमा सैदान्तिक छलफल हुनेछ।
आजको बैठकमा संविधान संशोधन विधेयक कार्यसूचीमा रहनेछैन । संसदमा पेश गरेपछि सर्वसाधरण समेतको जानकारीका लागि सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था र प्रचलनका कारण विधेयक कार्यसूचीमा रहने छैन।
सोमवारको बैठकमा स्थानीय तह निर्वाचन सम्वन्धी विधेयक र निर्वाचन कसुर तथा सजाय सम्वन्धी विधेयकमा सैदान्तिक छलफल हुनेछ । यस्तै बैंक तथा बित्तिय संस्था सम्वन्धी विधेयकको प्रतिबेदन आज संसद्मा पेश हुने सम्भावित कार्यसूची संसद् सचिवालयले तयार पारेको छ ।
लगातार ३८ दिनको अवरोधपछि आइतवारवाट संसद् बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको थियो । ३८ दिनमध्ये एक दिन पूर्व सांसद् बुद्धरत्न मानन्धरको निधनमा शोक प्रस्ताव पारित भएको थियो।