
काठमाडौं: लामो विवादपछि संसद्को अर्थ समितिले परिमार्जनसहितको बैंक तथा बित्तिय संस्था सम्वन्धी विधेयक पुनः संसदमा पेश गर्ने भएको छ। संसद्को आजको बैठकमा विधेयक पेश गर्नेगरी सचिवालयले कार्यसूची तयार पारेको छ।
अर्थ समितिका तर्फवाट सभापति प्रकाश ज्वालाले दोस्रो पटक प्रतिवेदनसहितको विधेयक पेश गर्न लागेका हुन्। यसअघि समितिले संसद्मा पेश गरेको उक्त विधेयक विवादित भएपछि पुनः छलफलका लागि समितिमा नै फिर्ता भएको थियो।
संसद् सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले सोमवारको बैठकमा अर्थ समितिको प्रतिबेदनसहितको विधेयक पेश हुने जानकारी दिनुभयो।
संसद्को पूर्ण बैठकले गत असार ७ गते विधेयक पुनः छलफलका लागि समितिमा नै पठाएको थियो। विधेयक विवादित भएपछि तत्कालीन अर्थमन्त्री बिष्णु पौडेलको प्रस्तावमा संसदले विधेयक समितिमा पठाएको थियो।
संसदले बैंक तथा बित्तिय संस्थाको सञ्चालकको योग्यता/अयोग्यता, प्रमुख कार्यकारी अधिकृतको कार्यकाल, संस्थापक सेयर साधरण सेयरमा परिणत हुने समयावधि, विधेयकको प्रस्तावनालगायतका विषयमा पुनः छलफल गरी प्रतिबेदन पेश गर्न निर्देशन दिएको थियो।
संसद्को निर्देशन अनुसार समितिले मंसिर ७ गते विधेयक पुनः संसदमा पेश गर्न पारित गरेको थियो। समितिले विभिन्न ९ बुँदामा परिमार्जन गरेको थियो। संवैधानिक पदमा रहेका व्यक्ति बैंक तथा बित्तिय संस्थाको सञ्चालक बन्न नपाउने, दश बर्ष पुगेको संस्थापक सेयर साधरण सेयरमा परिणत गर्न पाउने व्यवस्था छ।
अर्थ समितिको अन्तिम प्रतिबेदनमा सञ्चालक समिति अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको कार्यकालमा सीमा तोकेको छ। बैंक तथा बीमाको सञ्चालक एकै व्यक्ति हुन नपाउने प्रवन्ध पनि समितिले गरेको छ।