काठमाडौं : सांसदहरु संसद्मा बोल्दा विम्ब प्रयोग गर्छन्। उखान टुक्का जोड्छन्। आफ्नो भनाइको अर्थ खुलाउन कहानी सुनाउँछन्। सोमबार भने सांसदहरुले फरक-फरक प्रसङ्गमा बिरालोको कहानी सुनाए।
संसदको विशेष समयमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बिरालोको प्रसंग जोडेर एउटा उखान सुनाए।
केसीले भने, 'बिरालोको ख्यालठट्टा, मुसो खुत्रुक्कै।'
संघीयतामा मुलुक २०६५ जेठ १५ मा एकाएक प्रवेश गरेको उनको भनाइ थियो। 'संघीयताको गलपासो कसिँदै गएको छ,' आफ्नै शैली र लबजमा केसीले भने, 'माओवादी दिल्ली जाला भनेर संघीयता स्वीकारेको कतिपय नेताले भने।'
केसीले प्रदेश नम्बर २ टुक्र्याए जस्तै अहिले ५ नम्बरमा बहस आएको र अन्य पनि त्यस्तै हुने तर्क गरे।
त्यसो त एमालेका सांसद गुरुप्रसाद बुर्लाकोटीले पनि बिरोलोकै उखान जोड्न भ्याए। उनले भने, 'वीरबलले पालेको बिरालो दूध देख्दा डराउँथ्यो।'
उनले सरकारले निर्वाचनको मिति तोक्न डराएको आरोप पनि लगाए। नेकपा माओवादी केन्द्र विगतमा निर्वाचनमा पराजय भएकाले अहिले पनि मिति तोक्न हिचकिचाएको उनको व्यङ्ग थियो।
बिरालोको कहानी प्रस्ट्याउँदै उनले भने, 'वीरबलले पालेको बिरालोले एकपटक तातो दूध पिउन खोज्दा पोलेछ। त्यसपछि दूध सधैँ तातो हुन्छ भन्ने बिरालोले ठानेछ।'
बिरालो-किस्सा सुनेर सांसदहरु मुसुमुसु हाँसेका थिए।