
काठमाडौं: हरेक साताको शुक्रबार फिल्म रिलिज गर्ने परम्परा विरुद्ध कर्मा र केकीको अभिनय रहेको 'लभ सासा' खडा हुदैँछ। फिल्म पुस २८ गते अर्थात् बिहीबार नै रिलिज हुनेछ। आखिर किन फिल्म निर्माण यूनिटले फ्राईडे रिलिजलाई टार्गेट गरेन?
निर्देशक प्रचण्डमान श्रेष्ठको दाबी छ - फिल्म राम्रो बनेको छ। जुन दिन प्रदर्शनमा आएपनि फरक पर्दैन।'
'नेपालको हकमा शुक्रबार हाफ छुट्टी र शनिबार बिदा हुने भएको कारण ति दिन दर्शक धेरै हुन्छन् (६० देखि १००%)को अकुपेन्सी सहित', श्रेष्ठ भन्छन्,'बिहिबार फिल्म रिलिज गरियो र फिल्म प्रतिक्रिया राम्रो आयो भने शुक्रबार र शनिबारको लागि दर्शक बढ्छन्।'
बिहिबार दर्शकको अकुपेन्सी १५ देखि २० प्रतिशत मात्र हुने भएपनि ति दर्शकको प्रतिक्रिया राम्रो आए फिल्मलाई फाइदा हुने देखेका कारण रिस्क लिएको उनको दावी छ। उसो त फिल्म रिलिज अघि गरिएको प्रचारका कारण आएका दर्शकको प्रतिक्रिया नकारात्मक आए फिल्मको व्यवसायमा असर पर्ने यथार्थ पनि स्विकार्छन् उनी।
भने,'मैले मेरो फिल्म राम्रो भएकै कारण क्याल्कुलेटिभ रिस्क लिएको हुँ। मेरो फिल्मको वर्ड अफ माउथ राम्रो जान्छ। मलाई कुनै फिल्मसँग प्रतिस्पर्धा गर्नु छैन।'
उसो त 'लभ सासा'ले आफ्नो फिल्म रिलिज मिती घोषणा गरेसँगै पुस २९ गते प्रदर्शनमा आउने भनिएको फिल्म 'किङ'ले पनि रिलिज २८ गतेका लगि सारिसकेको छ। तर किङसँग जुध्दैमा आफ्नो फिल्मको व्यवसायमा कुनै असर नगर्ने श्रेष्ठ दावी गर्छन्।
कर्मा शाक्य र केकी अधिकारी अभिनित फिल्म पोस्ट प्रोडक्सन पछि मात्र आफूले ५५ चोटी हेरेको निर्देशक श्रेष्ठले बताए। 'फिल्म राम्रो बनेको छ', उनले भने, 'अब राम्रो नराम्रो भन्ने जिम्मा दर्शकको।'
माधव वाग्लेले निर्माण गरेको फिल्ममा कर्मा र केकीसँगै आसिफ शाहको मुख्य अभिनय रहेको छ।