
धनगढी : भारतको दिल्ली युनाईटेड पोखराको सहारा क्लबलाई हराउँदै धनगढीमा जारी खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। यस्तै काठमाण्डौको संकटा क्लब पनि आफ्नो पहिलो खेलमा जगदम्बा लुम्बिनीलाई पराजित गर्दै क्वाटरफाईनलमा पुगेको छ।
सोमबार धनगढी रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दिल्ली युनाईटेडले पोखराको सहारा क्लबलाई ३-२ ले पराजित गर्यो। पहिलो हाफको १० औं मिनेटमा दिल्लीका लागि सन्दीपले गोल गर्दै अग्रता दिलाए। त्यसको ४ मिनेटपछि नै उत्तम गुरुङको गोलमार्फत सहाराले खेल बराबरी गर्यो। ४६ औं मिनेटमा दिल्लीका लागि थोपी र ५० औं मिनेटमा लागोले गोल गर्दै दिल्लीलाई ३-१ को स्थितिमा पुर्याए। सहारका लागि ७१ औं मिनेटमा सामसोनले गोल गरे। त्यसपछि कुनै पनि टीमले गोल गर्न नसकेपछि नतिजा दिल्लीको पक्षमा गएको हो।
खेलको 'म्यान अफ द म्याच' भएका दिल्ली युनाइटेडका थोपेले आगामी खेलहरु पनि जितका लागि खेल्ने बताए। दिल्लीका प्रशिक्षक क्लेवसोन दउर्ते र कप्तान डोनले सबै खेलाडीहरुको तालमेल मिलेका कारण खेल जितेको बताए। सहारा क्लवका कुनै पनि पदाधिकारीले खेलको वारेमा प्रतिक्रिया दिएनन्।
सोमबार नै धनगढी रंगशालामा भएको खेलमा संकटाले जगदम्वा लुम्बिनीलाई २-१ ले पराजित गरेको हो। सुरुवातमा गोल गर्दै लिएको अग्रतालाई बचाउन नसक्दा लुम्बिनी हार व्यहोर्न बाध्य भएको हो।
पहिलो हाफको इन्जुरी टाइममा रितेश मल्लले गोल गर्दै लुम्विनीलाई अग्रता दिलाएका थिए। तर ६४ औ मिनेटमा लुम्बिनीका पुर्ण गुरुङले आत्मघाती गोल गरेपछि खेल १-१ को स्थ्तिीमा पुग्यो। बराबरीपछि आक्रमण भएको संकटका लागि ७८ औं मिनेटमा जर्सी सुशीत केसीले गोल गर्दै संकटलाई २-१ को अग्रता दिलाए। त्यसपछि खेलमा दुवैतर्फबाट गोल हुन नसक्दा सुशिलको गोल नै संकटालाई क्वाटरफाइनल पुर्याउन पर्याप्त भयो।
जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले आफ्नो टीमले मेहनत गरेका कारण जित हासिल भएको बताए। लुम्बिनीका प्रशिक्षक विकास गुरुङले डिफेन्स लाईनका खेलाडी घाईते भएका कारण र अफसाईड गोल खाएपछि हार बेहोरेको प्रतिक्रिया दिए।