PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

स्पेसल ब्युरोको अपरेसनमा 'गिरी बाबा' फन्दामा : भारतमा विस्फोट योजना, नेपालमा पक्राउ



सविन ढकाल

स्पेसल ब्युरोको अपरेसनमा 'गिरी बाबा' फन्दामा : भारतमा विस्फोट योजना, नेपालमा पक्राउ

काठमाडौँ : पर्साको बिजवनिया गाविसको गढैया टोल हिजो एकाएक आतंकित भयो। काठमाडौँबाट गएको स्पेसल ब्युरोसहित पर्सा प्रहरीको टिमले 'गिरी बाबा' उर्फ बृजकिशोर गिरीलाई नियन्त्रमा लिन ६ राउन्ड गोली चलाउनु पर्‍यो। 

गिरी बाबा ससुरालीमा लुकेर बसेका थिए। उनी लुकेको ठाउँ पत्ता लगाएर नियन्त्रणमा लिन खोज्दा प्रतिकार भएपछि प्रहरीले गोली चलाएको हो। गोली उनको घुँडामा लाग्यो र उनी सिकिस्त भए।

***
गएको पुस १३ गते बाराको हरैया गाविसमा पर्ने जंगलमा हत्या गरी फालिएका दुई युवकको शव फेला पर्‍यो। अनुसन्धानको क्रममा दुई शव भारत बिहारको पूर्वी चम्पारण आदापुरको लक्ष्मीपुर पोखरीया गाउँका १८ वर्षीय दीपक राम र उनका काका २८ वर्षीय अरुण राम भएको खुल्यो।
 
यही हत्याको रहस्यको तार खोज्दै जाँदा प्रहरीले भेट्टायो आतंकवादी समूहको भयानक योजना। 

अनुसन्धानमा संलग्न स्रोतका अनुसार गिरीले भारतमा बम विस्फोटको योजना बनाएका थिए। यसका लागि उनले ती काका भतिजलाई मनाएका थिए। तर अन्तिम घडीमा दुवैले यस्तो काममा संलग्न नहुने भन्दै तर्किए। गिरी बाबा अब धम्क्याएर आफ्नो काम फत्ते गराउने प्रयासमा लागे। 

तर दुवैले बम नपड्काउने अडान कायम राखेपछि आफ्नो योजना बाहिरिने डरले दुवैको हत्या गर्ने योजना बनाए। पुस १३ गते उनले जंगलमा बोलाएर दुवै जनाको घाँटी रेटेर हत्या गरेको अनुसन्धानबारे जानकार स्रोत बताउँछ। 

***

गिरी बाबा अहिले प्रहरी नियन्त्रणमा छन्। भारतमा विस्फोट गर्ने योजना बनाएको खुलेपछि भारतीय सुरक्षा निकायसँग मिलेर संयुक्त रुपमा अनुसन्धान अगाडि बढाइँदैछ।

गिरी बाबाको भारतका कुन आतंकवादी समूहसँग सम्बन्ध छ, त्यो पत्ता लगाउने तर्फ ध्यान केन्द्रित भएको छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell