रामपुर (पाल्पा) : दुुवै मिर्गौलामा खराबी देखिएपछि रामपुर नगरपालिका–५ डाब्राका रेमबहादुर सेनलाई उपचार गर्न समस्या परेको छ।
दुई महिनादेखि मिर्गौलाको नियमित उपचार गराइरहनु भएका सेनलाई आर्थिक अवस्थाले गर्दा उपचारमा समस्या परेको हो।
एक वर्षअघि रोजगारीका लागि साउदी अरब पुगेका सेन उच्च रक्तचापको समस्या देखिएपछि नेपाल फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि काठमाडौँको मेडिकेयर नेसनल हस्पिटलमा परीक्षण गर्दा दुवै मिर्गौलामा समस्या भएको अस्पतालले जानकारी गराएपछि सेन चिन्तित बनेका छन्।
अस्पतालमा चारपटक परीक्षणपश्चात् मिर्गौलामा समस्या रहेको डाक्टरले बताएपछि डायलाइसिस गर्ने वा मिर्गौला प्रत्यारोपण गर्ने भन्नेमा आफु पुुगेको सेनले बताए।
मिर्गौला प्रत्यारोपणमा रु छ लाख रकम लाग्ने भएपछि उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभएको छ । सहयोग गर्न चाहने संघ–संस्था र व्यक्तिले राष्ट्रिय वाणिज्य बैंकको खाता नं ३५१०००१६३९१० मा रकम संकलन गरी नयाँ जीवनका लागि उनले अनुरोध गरेका छन्।
उपचारमा अहिलेसम्म रु एक लाखभन्दा बढी खर्च भइसकेको र थप उपचार कसरी गर्ने हो भन्ने चिन्तामा उनी छन् । सरकारले मिर्गौलाका रोगीलाई उपचार खर्च निःशुल्क गर्ने भनिए पनि वीरअस्पतालमा पुग्दा सहयोगको कोटा नभएको बताएपछि झनै चिन्तित बनेको उनले बताए।
सरकारको सहयोग पाउनका लागि आफू सामान्य परिवार र पहुँचवाला व्यक्ति नभएकाले समस्या परेको उनको गुनासो छ। रासस