
एजेन्सी : नवनिर्वाचन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको बरिष्ठ सल्लाहकारमा आफ्नै ज्वार्इँलाई नियुक्ति गर्ने तयारी गरेका छन्। बिबिसीका अनुसार ३५ बर्षी ट्रम्पका ज्वार्इँ जारेड कुशनर ससुरा जस्तै ‘रियलस्टेट बिजनेश’ टाइकुन हुन्। ट्रम्पकी छोरी इभान्कासँग उनले विवाह गरेका हुन्।
राष्ट्रपतीय निर्वाचनका समयमा ट्रम्पलाई निकै सघाएका कुशनरले ह्वाइटहाउसको आन्तरिक र बिदेश नीति समेतमा सल्लाह दिनेछन् । मध्यपूर्वको व्यवसाय सम्वन्धी सम्झौताको अधिकार पनि उनलाई हुने बताइएको छ।
सल्लाहाकार भए पनि उनले पारिश्रमिक भने नलिने जनाइएको छ।
सीएनएनले कुशनरको नियुक्ति ‘एन्टी नेपोटिज्म’ विरुद्ध हुने लेखेको छ । उक्त नियम अनुसार सरकारी अधिकारीले आफ्नो परिवारभित्रको कुनैपनि सदस्यलाई सरकारी ओहोदामा नियुक्त गर्न मिल्दैन । डेमोक्र्याट’हरुले प्रक्रिया पुनरावलोकन गर्न माग गरिसकेका छन् ।
सल्लाहाकार नियुक्तिको प्रक्रिया अघि बढेसँगै कुशनरले आफु व्यवस्थापकका रुपमा संलग्न रहेका कम्पनीमा राजीनामा तयारी गरेको जनाइएको छ । उनी कुशनर कम्नीका सिइओ रहेको सीएनएनले उल्लेख गरेको छ।
नवनिर्वाचित राष्ट्रपति ट्रम्पले अवको दश दिनपछि जनावरी २० देखि अमेरिकी राजनीतिक र प्रशासनिक नेतृत्व लिनेछन्।