
वीरगन्ज : बिहे, भोज, भण्डारा, व्रतबन्ध, सभा तथा धार्मिक पर्वलगायतका समयमा ठूलो स्वरमा विभिन्न गीत सङ्गीत बजाउने डिजेजस्ता उपकरण प्रयोग गर्ने अचेल सामाजिक संस्कार बन्दै गएको छ।
बिहान ४ बजे मन्दिर, मस्जिदमा ठूलो स्वरमा धार्मिक प्रार्थना, बसपार्क क्षेत्रमा गाडीको हर्न र नगरभित्रको सडकमा निन्द्रा खराब गर्ने गरी बाजा बजाउनाले नगरबासी प्रभावित हुने गरेका छन्।
वीरगन्जको माईस्थान चोकमा केही दिनयता सञ्चालनमा रहेको सप्ताहव्यापी धार्मिक कार्यक्रममा चारैतिर लाउडस्पीकर राखेर प्रवचन कार्यक्रम गर्नाले त्यस क्षेत्र वरिपरि करिब ५०० मिटर क्षेत्रभित्र रहेका व्यापारी र बटुवा ध्वनि प्रदूषणका कारण प्रभावित हुने गरेका पाइएको छ।
ठूलो स्वरमा बाजा बजाउँदा आफूहरु मात्र होइन, पसलमा आउने ग्राहक समेत प्रभावित हुने गरेकाले सम्बन्धित निकाय गम्भीर हुनुपर्ने माईस्थानका पान व्यवसायी विनयकुमार चौरसियाको गुनासो छ।
जिउ नै हल्लिने खालको साउन्ड प्रयोग गर्नु, जन्ती जाँदा पार्टीलगायतको काममा गाडीमा प्रयोग हुने ठूलो आवाजको हर्नले कतिपय स्थितिमा शारीरिक क्षति र बहिरो समेत बनाउने गरेको चिकित्सक बताउँछन्।
बिहान र दिनभरिको ध्वनि प्रदूषणको कारण तनाव, झैझगडा, मानसिक विचलन लगायतको समस्या उत्पन्न हुने वीरगन्जका वरिष्ठ पत्रकार शङ्कर खतिवडाको भनाइ छ।
कार्यालयको समयमा सडकबाट जाने सवारीसाधनले ठूलो स्वरमा हर्न बजाउँदा दैनिक क्रियाकलापमा समस्या हुने गरेको छ। नगर क्षेत्रमा रहेका सुरक्षाकर्मीले सक्रियता नदेखाएकाले ध्वनि प्रदूषण बढ्न गएको स्थानीय बताउँछन्।
वीरगन्ज नगर क्षेत्रमा ध्वनिको समस्या रहेको स्वीकार्दै पर्साका प्रहरी उपरीक्षक गोविन्दकुमार साहले ठूलो स्वरमा बाजा बजाउनु यहाँको रीतिरिवाज नै भएको र सम्झाउँदा बुझाउँदा पनि सम्बन्धित पक्षले अटेर गर्ने गरेको बताए।रासस