PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

काठमाडौं हिँडेका स्याङ्जाका कार्यालय प्रमुख चितवनमा मृत फेला, हत्या कि आत्महत्या?



सविन ढकाल

काठमाडौं हिँडेका स्याङ्जाका कार्यालय प्रमुख चितवनमा मृत फेला, हत्या कि आत्महत्या?

काठमाडौं : पुस १८ गते सोमबार। कार्यालयको कामको सिलसिलामा जिल्ला भू-संरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतम घरबाट काठमाडौं निस्कने तयारीमा थिए।
 
कति दिनको काम, कहिले फर्कने लगायत सामान्य चासो परिवारबाट त हुने नै भयो। परिवार र नजिकका आफन्तहरुलाई उनले कार्यालयको विभागीय कामले काठमाडौं जानुपर्ने भएको र केही दिनमै फर्कने जवाफ दिए। कार्यालयीय कामले निस्कनुपर्ने बाध्यतालाई परिवारले पनि बुझे। केही दिनमा फर्किनेमा ढुक्क भए उनीहरु।
 
घरबाट हिँडेको केही बेरमै परिवारका सदस्यले फोन गरे तर मोबाइल अफ थियो। चार्ज सकिएर अफ भएको होला भन्ने सोचेर मन बुझाए। काठमाडौं पुगेपछि खबर पाउनेमा विश्वस्त पनि भए। तर गौतमबाट कुनै खबर आएन। त्यो रात त्यसै बित्यो।
 
भोलिपल्ट बिहानै सम्पर्क गर्दा पनि मोबाइल खुल्दै खुलेन। पुन: उही जवाफ दोहोरियो- तपाईँले सम्पर्क गर्न खोज्नुभएको मोबाइलको स्वीच अफ गरिएको छ।'
 
यसपछि भने परिवारको चिन्ता आगोसरि फैलियो। वरिपरिका छिमेकी, सबैतिरका आफन्तहरुलाई उनीहरुले खबर गरे। उनी कसैकहाँ नपुगेको थाहा पाएपछि प्रहरीमा उजुरी गरियो।
 
प्रहरीले गौतमबारे चासो राखेर खोजी गरिरहेकै बेला सोमबार राति चितवनको रामपुर जंगलमा झुन्डिएको अवस्था एउटा शव फेला परेको सूचना आयो। प्रहरी झन् चनाखो भयो, उनै गौतम त होइनन्?
 
घटनास्थल पुगेर हेर्दा झुन्डिएको शवसँगै एउटा मोबाइल पनि फेला पर्‍यो।
 
मोबाइलमा रहेको सबै कल रेकर्ड र सम्पर्क नम्बरहरु जाँच गर्दा त्यो फोन केही दिनदेखि हराएका जिल्ला भू-संरक्षण कार्यालय स्याङ्जाका प्रमुख कमलप्रसाद गौतमकै रहेको थाहा भयो। आफन्तहरु आइसकेपछि घटना पुष्टि भयो, किनकि झुन्डिएको शव उनै गौतमको थियो।
 
चितवन प्रहरी कार्यालयका सहायक प्रहरी निरीक्षक शैलेन्द्र खड्काले मुग्लिन आएपछि मोबाइल अफ भएको अनुसन्धानमा खुलेको बताएका छन्।
 
सरकारी कामका लागि काठमाडौं हिँडेका गौतम कसरी चितवन पुगे? र, किन आत्महत्या गरे? या हत्यापछिको यस्तो घटना हो? यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

मंगलबार उनी हराएको भन्दै केही दैनिक पत्रपत्रिकामा सूचना समेत सार्वजनिक भएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell