PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

​सुन तस्करीको छलफलमा सांसदको प्रश्नले निम्त्यायो हाँसो



सविन ढकाल

​सुन तस्करीको छलफलमा सांसदको प्रश्नले निम्त्यायो हाँसो

काठमाडौँ :  गएको बिहीबार ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर बाहिरिएपछि पक्राउ पर्‍यो। सर्वसाधारणले ल्याउने थोरै परिमाणको सुनमा पनि प्रतिबन्ध लगाइए पनि यो घटनाले सेटिङ मिलाएर कसरी ठूलो परिमाणमा अवैध सुन भित्रिरहेको छ भन्ने प्रमाण खुला भएको थियो।  

यही विषयमा छलफल गर्न व्यवस्थापिका संसदको अर्थ समितिले मंगलबार बिहान साढे १० बजे सिंहदरवारमा बैठक राखेको थियो। बैठकमा अर्थमन्त्री, गृह मन्त्रालयका सहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, राजस्व विभागका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका अधिकारी, भन्सार विभाग प्रमुख,  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख र सबै दलका सांसदहरुको उपस्थिति थियो। 

कार्यक्रममा सहभागी सबैले देशभित्र भइरहेको सुन तस्करी र राजस्व छली कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा सुझाव दिए। गृह मन्त्रालयका सह सचिव बालकृष्ण पन्थीले एयरपोर्टको सुरक्षा प्रणाली कतिको वैज्ञानिक छ भन्ने विषयमा खोज्नुपर्ने बताए। 

त्यस्तै भन्सार विभागका प्रमुख शिशिर ढुङगानाले एयरपोर्टको अध्यागमन विभागमा आधुनिक उपकरणको अभाव हुँदा केही सामान अध्यागमनबाट छुट्ने गरेको दावी गरे। राजस्व चुहावट र तस्करीलाई प्रहरीले पहिलो प्राथमिकता दिए पनि र सुन तस्कारी निरन्तर भइरहेको जानकारी दिएका थिए प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले। 

सांसद रज्जाकको फाइल फोटो साभार : लुम्बिनी टाइम्स


हलभित्र नेपाली कांग्रेसका सांसद अव्दुल रज्जाक पनि थिए। सबैले दिएका सुझाव उनले चाख दिएर सुनिरहेका थिए। बिहीबार एयरपोर्ट बाहिरबाट बरामद गरिएको ३३ केजी सुनको अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरोका डिआइजी नवराज सिलवालले जरैसम्म पुगेर तस्करीको अन्त्य गर्ने गरी अनुसन्धान भइरहेको बताए। 

घडीको सुईले १२ नाघिसकेको थियो। १ बजे बानेश्वरमा संसदको बैठक भएकाले बैठक टुङ्ग्याउने तरखरमा सबै थिए। 

यत्तिकैमा नेपाली कांग्रेसका सांसद अब्दुल रज्जाकले मेरो एउटा प्रश्न छ भन्दै माइक ताने। उनले भने, ‘सुन तस्करी हुँदा नेपाललाई के घाटा छ ? किन तस्करीलाई रोक्ने ?’
 
हलमा भएका सबै गलल हाँसे। उनको जवाफ कसैले दिएनन्। बुधवार गृहमन्त्रीले नै यसको जवाफ दिने भन्दै बैठक सकियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell