काठमाडौं : नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले विमानस्थलबाट नियमित सुन तस्करी भइरहेको बताएका छन्। 'बिहीबार बरामद भएको ३३ केजी सुनको परिमाण हेर्दा निरन्तर तस्कर गरिरहेका छन् भन्ने पुष्टि हुन्छ,' अर्यालले भने, 'भरिया पक्राउ पर्छन् खलनायकहरु भने पर्दापछाडिबाट नै खेल खेलिरहेका छन्।'
सुन पक्राउ गरेपछि प्रहरीलाई नै अनुसन्धान गर्न दिनुपर्ने र त्यसका लागि प्रहरी सक्षम रहेको उनले बताए।
सुन तस्करीमा भरिया मात्र समातिएको र मुख्य योजनाकार पक्राउ पर्न नसक्नुको विषयलाई लिएर संसदीय अर्थ समितिमा कडा बहस भएको थियो।
सिंहदरबरमा मंगलबार बसेको बैठकका सभापति प्रकाश ज्वालाले सुन तस्करी बढेको र विमानस्थलबाट ठूलो परिमाणमा सुन बाहिरिँदा समेत पक्राउ गर्न नसक्नुले देशको राष्ट्रिय सुरक्षामा नै चुनौती बढेको बताए।
भन्सार विभागका प्रमुख शिशिर ढुङगानाले बिहीबारको घटनालाई लिएर अनुसन्धान भइरहेको बताएका छन्। विभागका कर्मचारी तस्करीमा सामेल भए कडाभन्दा कडा कारबाही गर्न समेत उनले माग गरेका थिए।
गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ किलोग्राम सुन भन्सार पास भएर बाहिरिएको थियो। सुटकेसमा सुन बोकेर आउनेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पिङ्गलास्थानमा सुनसहित पक्राउ गरेको थियो।
यो पनि : माग-आपूर्तिको सन्तुलन नमिल्दा तस्करीले धानेको छ नेपालको सुन बजार