
काठमाडौं : घरेलु भलिबलका दुई चिरपरिचित टोली शसस्त्र प्रहरी बलको एपीएफ र नैकापको न्युडायमण्ड एकेडेमीले १२औँ ब्लु स्काई टिभिएस ढोरपाटन महिला डबल लिग भलिबलमा संयुक्त रुपमा अग्रता बनाएका छन्।
नयाँबसपार्कमा मंगलबार भएको खेलमा एपीएफले पश्चिमाञ्चल क्षेत्रिय भलिबल संघलाई ३–१ ले हराएपछि अघिल्लो दिन शिर्ष स्थानमा रहेको न्युडायमण्डसँग अंक बराबरी गरेको हो।
चौथो दिनको खेलमा एपीएफले पश्चिमाञ्चलसँग पहिलो सेट २२–२५ ले गुमाएको थियो। यद्यपी लगातार तीन सेट २५–१२, २५–७ र २५–१५ ले आफ्नो पक्षमा पार्दै ३ अंक बटुल्यो। जितपछि एपीएफ र न्युडायमण्डले ४ खेलबाट अपराजित रहँदै समान १२ अंक जोडेका छन्।
पहिलो खेल पराजय बेहोरेपनि दोस्रो खेलमा पश्चिमाञ्चलले सफलता हात पार्दै २ खेलबाट ३ अंक बटुलेको छ। पश्चिमाञ्चलले विजेश्वरी ज्ञानमन्दिरलाई २५–११, २५–३ र २५–८ को सोझो सेटमा हराउँदै लिगमा पहिलो जित हात पार्यो।
त्यसैगरी अर्को विभागीय टिम नेपाल आर्मीले न्युडायमण्ड स्पोट्र्स क्लबलाई २५–२२, २५–१७ र २५–१२ को सोझो सेटमा हरायो। जितपछि आर्मीले ४ खेलबाट ९ अंक बटुलेको छ। अर्को खेलमा पनि न्युडायमण्ड स्पोर्ट्स क्लब पराजित भयो। उसलाई आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले २५–१५, २५–९ र २५–१९ को सोझो सेटमा हरायो। ढोरपाटन ४ खेलबाट ५ अंक बनाउन सफल भयो।