PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश



पहिलोपोस्ट

खप्तड गोल्डकप : मनाङ मर्स्याङ्दी सेमिफाइनलमा प्रवेश

धनगढी : ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी धनगढीमा भईरहेको भागेश्वर गुप्र सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा प्रवेश गरेको छ। मंगलबार धनगढी रंगशालामा भएको खेलमा भुटानको ड्रुकस्टार फुटबल क्लबलाई २-० ले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो।
 
बाई पाएर सिधै क्वाटरफाईनल खेलेको मनाङलाई भुटानी क्लबले पहिलो हाफमा गोलरहित बराबरीमा रोकेपनि घरेलु क्लबले दोस्रो हाफमा दुई गोल गर्यो।

५१ औं मिनेटमा विदेशी खेलाडी ओलावा ओफिजले गोल गर्दै मनाङलाई अग्रता दिलाए। ८९ औं मिनेटमा सुशिल लामाले गोल गर्दै मनाङको जित सुनिश्चित पारे। 

जितपछि प्रतिक्रिया दिँदै मनाङका कप्तान अनिल गुरुङले सुरुवाती खेलमा सधैं राम्रो खेल्न नसकेको भन्दै अबका खेलहरुमा प्रदर्शन सुधार हुँदै जाने बताए। मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङले विपक्षी टीमले राम्रो खेलेकोमा प्रशंसा गर्दै दोस्रो हाफमा राम्रो खेलेका कारण जित सम्भब भएको बताए।

ड्रुकस्टारका सहायक प्रशिक्षक टसी डेन्डुकले विपक्षी टीम बढी अनुभवी भएका कारण आफ्ना कम उमेरका खेलाडीहरुले जित्न नसके पनि राम्रो प्रदर्शन गरेकोमा खुशी व्यक्त गरे। ड्रुकस्टारका कप्तान टङडीन दोर्जेओले आफ्ना खेलाडीहरुले अनुभव बटुल्न पाएको भन्दै मनाङको खेल हेरीसकेकोले उनीहरुसँग कम गोल खाने रणनिति अनुसार खेलेको बताए। 

मनाङसँगै भारतको दिल्ली युनाईटेड र आयोजक सुदुरपश्चिम-११ यस अघि नै सेमिफाईनल पुगिसकेका छन्। सेमीफाईनलमा मनाङले दिल्ली युनाईटेडसँग प्रतिस्पर्धा गर्नेछ। आयोजक सुदुरपश्चिम-११ ले भने सेमिफाईनलमा नेपाल आर्मी र संकटाको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। 

भागेश्वर गुप्रको मुख्य प्रायोजनमा भईरहेको गोल्डकपको बुधबार अन्तिम क्वाटरफाईनलमा नेपाल आर्मी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। 
(फोटो : सीतारा ओझा)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell