बर्दिबास: हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुसहर बस्ती बनाउन धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाख नगद सहयोग घोषणा गरे।
हिजो (सोमबार) बर्दिबासस्थित मुसहर बस्तीमा तेस्रो एकीकृत नमुना बस्तीको शुभारम्भको अवसरमा मह जोडी पनि पुगेका थिए। जोडीले कार्यक्रमबीच सहयोगको घोषणा गर्दै बस्ती बनाउन उल्लेख्य रकम जुट्ने विश्वास पनि व्यक्त गरेका छन्। मदनकृष्ण श्रेष्ठले भने, 'पुग्दो रकम जम्मा हुन्छ पक्कै। हामीले जनआन्दोलन ताका भएका घाइतेहरुका लागि यसै गरी सहयोग जुटाएका थियौं।'
'धुर्मुस, सुन्तलीले सिंगो कलाजगतको प्रतिनिधित्व गरेका छन्। उनीहरुले गर्ने बस्ती निर्माणमा हामी कलाकारले सहयोग गर्नै पर्छ', आचार्य बोले।
शिलान्यास समारोहमा विभिन्न व्यक्ति ब्यक्तित्व, सामाजिक सङ्घ संस्था र निकायबाट ३५ लाख बराबरको सहयोग प्राप्त भएको परियोजना संयोजक अर्जुन न्यौपानेले जानकारी दिएका छन्।
बर्दिवासका उत्साही युवाले सङ्कलन गरेको ५० हजार, फाउण्डेशन र मुसहर समुदायबीच समन्वय गर्दै आएका महोत्तरीका सञ्चारकर्मी राजकरण महतोले रु १० हजार, कलाकार किरण केसीले रु १० हजार नगद समारोहमै हस्तान्तरण गरेका थिए। त्यस्तै बस्ती निर्माणका लागि पूर्वमन्त्री तथा सांसद गिरिराजमणी पोखरेलले रु १० लाख सहयोगको घोषणा गरेका छन्।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय महोत्तरीका प्रमुख देवेन्द्र झाले बस्तीमा खानेपानीको धारा जडान गर्न तीन लाख, क्रसर व्यवसायी सङ्घ महोत्तरीमा आबद्ध ब्यवसायीले बस्तीमा निर्माण हुने ५० घरका लागि आवश्यक पर्ने ढुंगा, बालुवा र गिट्टी निःशुल्क उपलब्ध गराउने घोषणा गरे।
त्यसैगरि बर्दिवासका होटल व्यवसायी हिरा गौतमले एकलाख नगद प्रदान गर्ने वचनवद्धता व्यक्त गरेका छन्। धनुषाका पत्रकार शैलेन्द्र क्रान्तिले आफूले पाउने एक महिनाको पारिश्रमिक २० हजार हस्तान्तरण गर्ने बताएका छन्। समारोहमा बर्दिबास साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष चुडामणी पोखरेलले ३० हजार प्रदान गरे भने आइतबार बर्दिबासका स्थानीय गौविन्द पौडेलले २५ हजार नगद हस्तान्तरण गरेका थिए। यसैबीच जिल्लाको पशुपतिनगर गाविसका तरकारी किसानले फाउण्डेशनलाई ५० हजार नगद प्रदान गर्ने बताए।