बर्लिन : जर्मनीका पूर्वराष्ट्रपति रोमन हर्सोगको ८२ वर्षको उमेरमा मंगलवार निधन भएको छ । सन् १९९४ देखि १९९९ सम्म राष्ट्रपति रहनु भएका हर्सोगले आफ्नो कार्यकालमा आर्थिक सुधारका कार्यक्रमहरु लागू गरी जर्मनीलाई आर्थिक रुपमा समुन्नत तुल्याउन ठूलो योगदान दिएका थिए।
उनी जर्मनीको इतिहासमा नाजीहरुद्वारा गरिएको आमनरसंहारलाई स्मरण गरी त्यसबाट ठूलो पाठ सिक्नुपर्ने र सदैव मुलुकलाई शान्तिको मार्गमा लैजानुपर्ने धारणाका प्रखर हिमायति थिए।
जर्मनीका वर्तमान राष्ट्रपति जोचिम गाउकले आज हर्सोग दिवङ्गत हुनुभएको औपचारिक जानकारी दिए तर थप विस्तृत विवरण भने बताएनन्।
उनले स्वर्गीय हर्सोगको पत्नीलाई पठाउनु भएको एक समवेदना सन्देशमा हर्सोग जर्मनीको हरेक क्षेत्रमा सदैव सुधार होस् भन्ने चाहने राख्ने कट्टर राष्ट्रवादी नेता तथा प्रयास र परीक्षणमा जहिले पनि सफल एक विशिष्ट व्यक्तित्व रहेको चर्चा गरेका छन्।
जर्मनीको बेभेरिया राज्यको ल्यान्डसट भन्ने स्थानमा सन् १९३४ अप्रिल ५ मा जन्मिएका स्वर्गीय हर्सोग सन् १९९४ मा राष्ट्रपति पदमा निर्वाचित हुनुपूर्व जर्मनीको सर्वोच्च न्यायालयको प्रधानन्यायाधीश पदमा कार्यरत थिए।
उनका पिताले पहिला एउटा स्थानीय नस (त्यसको सुगन्धित धूलोलाई नाकले सुँघेर तलतल मेटाइन प्रयोग गरिने सुर्ती) कारखाना चलाउनुभएको थियो । पछि उनले त्यो काम छाडेर स्थानीय एक सङ्ग्रहालयको निर्देशक पदको जिम्मेवारी समालेका थिए।
स्वर्गीय हर्सोगले म्युनिख विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गरेका थिए। उनले केही वर्षसम्म दक्षिण–पश्चिमी जर्मनीको बाडेन–वेर्टम्बर्ग राज्यको संस्कृति मन्त्री तथा गृह मन्त्रीको जिम्मेवारी निर्वाह पनि गरेका थिए।
त्यसपछि, सन् १९८३ मा उनी संघीयसंवैधानिक अदालतमा उपाध्यक्ष पदमा नियुक्त भए। सन् १९८७ मा सर्वोच्च न्यायालयको प्रधान न्यायाधीश पदमा उनी पदोन्नति भएका थिए।
स्वर्गीय हर्सोग जर्मनीका अनुदारवादी चान्सेलर हेल्मुट कोलको १६ वर्षे कार्यकालको अन्ततिर निर्वाचित भएका पहिलो उदारवादी राष्ट्रपतिका रुपमा पनि परिचित थिए।
चान्सेलर हेल्मुट कोलको कार्य कालमा जर्मनीको आर्थिक स्तरोन्नति हुन सकेको थिएन। एकातिर मुलुकले बेरोजगारीको विषम परिस्थितिसँग संघर्ष गरिरहनु परेको थियो भने अर्कातिर देशलाई आवश्यक पर्ने श्रमशक्ति बजारमा लचिलो अवस्थामा उपलब्ध थिएन।
यस्तो परिस्थितिमा उनले जर्मनीमा विभिन्न आर्थिक सुधारका कार्यक्रमहरु ल्याई देशको अर्थतन्त्र सुदृढ र वलिष्ठ तुल्याउने अथक प्रयास गरेका थिए। राष्ट्रिय राजनीतिमा उनलाई प्रवेश गराउने गुरु भने हेल्मुट कोल थिए।
हेल्मुट कोल हइनल्यान्ड–प्यालेटिनेट राज्यको गर्भनर हुँदा स्वर्गीय हर्सोगलाइ राजनीतिमा प्रवेश गराई सन् १९७३ मा महत्वपूर्ण राजनीतिक पद दिलाएका थिए।
उनी पूर्वी जर्मनी र जर्मनी मूलभूमि (पश्चिम जर्मनी) को पुनःएकीकरणको चार वर्ष पश्चात् पहिलो राष्ट्रपतिको रुपमा सम्मानित पनि छन्।
स्वर्गीय हर्सोग आफ्नी दोश्रो पत्नी अलेक्ज्यान्ड्रासँग बस्दै आएका थिए। रासस/एपी