बर्दिवास : महोत्तरी जिल्लाको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा मङ्गलबार राति उखु झार्ने अनलोडर मेसिनमा चेपिएर एकजना मजदुरको मृत्यु भएको छ।
मङ्गलबार राति करिब ९ बजेको समयमा उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी नामका मजदुरको मृत्यु भएको हो।
घटनाको इलाका प्रहरी कार्यालय गौशालाले पुष्टि गरेको छ । मजदुर तिवारीको चेपिएर क्षतविक्षत् भएको शव घटनास्थलको प्रकृति मुचुल्का उठाएर शवपरीक्षणका लागि जलेश्वर अस्पताल लगिएको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले जानकारी दिए।
यसैबीच, एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई रु १० लाख क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन माग गरेका छन्। रासस