PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

राजविराज विमानस्थलको पुनर्निर्माण तीव्र, जेठसम्ममा पिचिङको काम सकिने



पहिलोपोस्ट

राजविराज विमानस्थलको पुनर्निर्माण तीव्र, जेठसम्ममा पिचिङको काम सकिने

  • अरुणकुमार यादव
राजविराज : करिब साढे पाँच दशकदेखि अलपत्र अवस्थामा रहेको सप्तरीको राजविराजस्थित विमानस्थलको पुनःनिर्माण कार्य यतिबेला तीव्रगतिमा भइरहेको छ।
 
सो विमानस्थल निर्माणका लागि कान्छाराम, रमण, देव एन्ड शायर जेभी कम्पनीले जिम्मा पाएपछि निर्माण कार्य सुरु भएको हो। भ्याटसहित करिब रु ३० करोडमा उक्त कम्पनीले ठेक्का लिएपछि अहिले माटो भर्ने तथा सब बेसको कार्य सुरु गरिएको हो। माटो भराइको काम सकिएपछि पिचिङको कार्य सुरु गरिने सो कम्पनीले जनाएको छ।
 
पिचिङका लागि चैतदेखि जेठसम्मको समय उपयुक्त भएको हुनाले त्यस अवधिभित्रै काम पूरा गर्ने प्रयासमा रहेको कम्पनीका इन्जिनियर मणिगोविन्द श्रेष्ठले बताए।
 
२०१६ सालमा तत्कालीन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको सो विमानस्थलको निर्माण कार्य एक महिनायता तीव्र पारिएको स्थानीयवासीले बताएका छन्।
 
एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग र ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एकसय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए। धावनमार्ग निर्माण भइसकेपछि राष्ट्रियस्तरको जुनसुकै उडान यहाँबाट बाह्रै महिना भर्न सकिने बताइएको छ।
 
विमानस्थलको स्तरोन्नति भएपछि नियमित विमान सेवा सुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरीका बुद्धिजीवीको भनाइ छ। विकास निर्माणको दृष्टिकोणले सप्तरी पछाडि परेको अवस्थामा राजविराजमा विमानस्थल सञ्चालन भइसकेपछि जिल्लाको समग्र विकासमा योगदान मिल्ने र यसमा सबै राजनीतिकर्मीले समेत ठोस कार्यमा ध्यान दिनुपर्ने राष्ट्रिय मधेस समाजवादी पार्टीका केन्द्रीय सचिव गजेन्द्रकुमार मण्डलले बताए।
 
पञ्चायतकालमा काठमाडौँ र खोटाङको लामीडाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदै आएको थियो। कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकिरहेका थिएनन्।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell