
दमक : नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की प्रकरणमा जस्तै आलोचित भएको टिप्पणी गरेका छन्।
नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको अपवित्र गठबन्धनबाट बनेको सरकारको गठन प्रक्रिया नै गलत ढङ्गले भएकाले त्यसको परिणाम अहिले देशवासीले भोग्नु परेको उनको भनाई छ। उनलेसरकारको योग्यता नै निलम्बित अख्तियार प्रमुख लोकमानजस्तै अपुग भएको तुलना गरे।
प्रेस चौतारी झापाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यो सरकारले राष्ट्रको हितको पक्षमा काम गर्न नसक्ने ठोकुवा गरे। लोकमान जसरी नाङ्गिए त्यसरी नै यो सरकार जनताका बीच आफँै नाङ्गिँदै गएको उनको जिकिर छ।
वर्तमान सरकारले संविधान कार्यान्वयन गर्न निर्वाचनमा जानुपर्ने निर्वाचन गराउनु सट्टा संविधान संशोधनको बहानामा अल्झिएर देशलाई द्वन्द्वमा धकेल्न मात्र उद्यत भएको आरोप उनले लगाए। निर्वाचन बिना संविधान कार्यान्वयन हुन नसक्ने बताउदै अध्यक्ष ओलीले मुलुकलाई अहित चाहने र द्वन्द्वमा लैजाने गम्भीर षडयन्त्र भइरहेको दावी गरे।
उनले संविधान संशोधन विधेयक संसदमा लुकेर दर्ता गरिए पनि त्यो कुनै हालतमा पारित हुन नसक्ने दोहो¥याए। संशोधन विधेयक देश र जनताका हितविरुद्ध तथा केही मधेसी नेताको हितमा ल्याइएको उनको विचार थियो । संशोधन विधेयक फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन लागे मात्र एमालेले सरकारलाई साथ दिने उनले बताए।
पूर्वराजा ज्ञानेन्द्र शाहले मङ्गलबार दिनुभएको व्यक्तव्य राजकीय हैसियतमा नभई एउटा नागरिकले दिएको विचार जस्तै मात्र भएको ओलीको टिप्पणी थियो । ‘देशप्रति माया मात्र ज्ञानेन्द्रको आशय हो,’ उनको भनाइ थियो । रासस