इलाम : संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताएका छन्।
मङ्गलबार इलाम नगरपालिकाको २२औँ नगर परिषद्को उद्घाटन गर्दै उनले संविधान संशोधन प्रस्तावसँगै अब मुलुक निर्वाचनतर्फ उन्मुख भएको बताए। संसदमा पेस भएको संविधान संशोधन विधेयक पारित हुने बताउँदै उनले इलामको आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास गरेर अघि बढ्नुपर्ने समेत धारणा राखे।
‘इलाम पर्यटकीय जिल्ला हो, आर्थिक विकाससँगै पर्यटन क्षेत्रको विकासलाई पनि अघि बढाउनुपर्छ’, उनले भने। राज्यमन्त्री जवेगुले स्थानीय तहको चुनाव छिटो गराउनका लागि सबैले सहयोग गर्नुपर्ने बताए।
इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले २२ औं नगर परिषद्बाट पारित नीति, कार्यक्रम तथा आ.व. २०७४÷०७५ को लागि रु १५ करोड १६ लाख ५८ हजारको बजेट प्रस्तुत गरे।
यसैगरी, स्थानीय विकास अधिकारी धु्रवबहादुर खड्का, सहायक प्रमुख जिल्ला अधिकारी सुजन फागो र सांसद सुजाता परियारले समेत इलाम नगरपालिकाको समुन्नति तथा विकासका लागि अघि बढ्नुपर्ने धारणा राखे।
समारोहमा इलाम नगरपालिका कार्यालयमा कार्यरत उत्कृष्ट कर्मचारीहरु प्रशासकीय अधिकृत रामकुमार शाह, खानेपानी चौकिदार लक्ष्मी खतिवडा, सामाजिक परिचालक संगीता बसेल, कुचिकार नरबहादुर कालिकोटेलाई नगद पुरस्कार जनही रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो।
त्यसैगरी, सामाजिक क्षेत्रमा उत्कृष्ट अवालेगोलाइ अर्चले सडक मर्मत सुधार उपभोक्ता समिति, इलाम नगरपालिका वार्ड नं. ५ को वडा नागरिक मञ्च, बौद्धिक अपाङ्गता केन्द्र बरबोटेका नविना लिम्बु, डुककुमारी भटृराई, प्रविना लिम्बु र जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामलाई समेत सम्मानपत्र प्रदान गरिएको थियो।
सोही समारोहमा इलाम नगरपालिकाको दिगो फोहरमैला व्यवस्थापनसम्बन्धी इलाम नगरपालिका र अभियान नेपाल÷प्याग नेपाल÷हरितनगर महिला समूहबीच सम्झौतासमेत भएको छ। रासस