सोलुखुम्बु : दुर्गमको एउटा गाउँमा कतिवटा पसल हुनसक्लान् ? दुई÷चार वा बढीमा ८/१० वटा । तर सोलुखुम्बुको विकट गाविस गुदेलको पनि विकट गाउँ चाचालुङमा भने एउटै गाउँमा ६६ वटा पसल सञ्चालनमा रहेका छन्।
गुदेल गाविस भवनबाट करिब ३ घन्टा टाढाको बाटोमा रहेको चाचालुङ गाउँमा दुईसय २३ घरधुरी रहेका छन् । त्यो बाक्लो बस्तीबाट अन्य गाउँमा पुग्नका लागि कम्तीमा २ घण्टा लाग्छ।
त्यसैले अन्य कुनै पनि गाउँबाट त्यहाँ आवश्यक सामान किन्न आउँँदैनन्, तर गाउँकै दुईसय २३ घरका लागि ६६ वटा पसल रहेका छन् । अन्यत्र हिँड्ने बाटो पनि खासै नपर्ने भएकाले आवतजावत गर्नेले पनि त्यो गाउँमा सामान किन्दैनन्, तैपनि घरैपिच्छे जस्तो पसल सञ्चालनमा रहेका छन्।
गाउँमा रहेको एउटै पसलमा चाउचाउदेखि चामल र सलाईदेखि जस्तापाता सबै पाइन्छ । एउटा पसलमा पसेपछि आवश्यकीय सबै सामान उपलब्ध हुने भएपनि धेरै पसल हुँदा व्यापार भने निकै कम हुने गरेको स्थानीय व्यापारी सरिमाया कुलुङ बताउछन्।
कृषि पेसामा आबद्ध त्यहाँका युवा धेरैजसो पर्यटकको भारी बोक्न जान्छन् र ट्रेकिङबाट फर्किएपछि पसलको सामान ल्याउने गरेको उनीहरुको भनाइ छ । पसल धेरै भएकाले कतिपयको सामान त एक वर्षसम्म बिक्री नभएर घरमै प्रयोग गरेर पनि सकिने गरेको पसल सञ्चालक नवीन कुलुङ बताउछन्।
प्रतिस्पर्धा भएकाले सस्तोमै सामान पाउँदा पसल नचलाउनेलाई सहज भएको छ । स्थानीय राजाराम कुलुङ भन्छन् ‘चाचालुङमा पसल गर्ने फेसन नै चलेको छ, वल्लो घरमा पनि पसल, पल्लो घरमा पनि पसल, सहर जस्तै छ, तर किन्नेहरु आक्कल झुक्कल मात्र आउँछन, किन्नेलाई त फाइदा छ ।’
चाचालुङमा पसलको सामान किन्नका लागि जिल्लाको नेले बजारबाट भरियालाई बोकाएर एकोहोरो तीन दिनभन्दा बढीको बाटो प्रतिकेजी रु ५० सम्म ज्याला तिर्नुपर्छ।
महँगो ढुवानी भाडा तिरेर गाउँको पसलमा लगेको सामान दुई÷तीन वर्षसम्म पनि बिक्री नभएर त्यत्तिकै बसेको हुन्छ, चाउचाउ, बिस्कुटजस्ता धेरैजसो खाद्य वस्तु उपभोग्य म्याद सकिएको हुन्छ । तर, पनि याममा चार महिना ट्रेकिङ जाने युवा बाँकी आठ महिना गाउँमा बस्दा काम हुन्छ भन्दै पसल थप्ने क्रम अझै बढिरहेको नवीन कुलुङ बताउछन्। रासस