PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​ओलम्पियन फुपुल्हामु नगदसहित पुरस्कृत



पहिलोपोस्ट

​ओलम्पियन फुपुल्हामु नगदसहित पुरस्कृत

काठमाडौं : नेपाल जुडो संघले रियो ओलम्पिक–२०१६ मा नेपालको प्रतिनिधित्व गर्दै महिला ६३ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गरेकी जुडो खेलाडी फुपुल्हामु खत्रीलाई मंगलबार नगदसहित पुरस्कृत गरेको छ।

उक्त तौलसमूहमा एक बाउट पूरा समय (४ मिनेट) टिकेर खेलेकोमा फुपुलाई नगद २५ हजार रुपैयाँसहित पुरस्कृत गरिएको हो। जुडो संघले यसअघि नै फुपुलाई एक बाउट पूरा समय टिकेको खण्डमा २५ हजार रुपैयाँबाट पुरस्कृत गर्ने निर्णय गरेको थियो।

ओलम्पिकको जुडोमा पूरा समय टिकेर खेल्ने फुपु पहिलो नेपाली जुडो खेलाडी हुन्। फुपुले क्युबाकी इस्पिनोसासंग पूरै अवधि टिकेर खेलेकी थिइन्। ओलम्पिकमा सहभागी हुने फुपु चौथो नेपाली जुडो खेलाडी हुन्। फुपुअघि ऋषिराम प्रधान, गंगाबहादुर डंगोल र देबु थापाले ओलम्पिकको विभिन्न संस्करणमा सहभागिता जनाएका थिए। रियो ओलम्पिकमा देबु प्रशिक्षकका रुपमा सहभागी भएकी थिइन्। देबुलाई १० हजार नगदबाट पुरस्कृत गरियो।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले फुपुलाई उक्त रकम बराबरको चेक एक कार्यक्रमबीच हस्तान्तरण गरे।

सोही अवसरमा भारतको केरलामा गत सेप्टेम्बरमा भएको १० औं एसियाली क्याडेट तथा १७ औं एसियाली जुनियर जुडो प्रतियोगितामा पदक जित्ने दुई महिला खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पनि पुरस्कृत गरिएको थियो।

पुरस्कृत हुने खेलाडीमा फुपुसहित मनीता प्रधान श्रेष्ठ छन्। फुपुले जुनियर ६३ केजीमुनि तथा मनीताले क्याडेटतर्फ ५७ केजीमुनि कास्य जितेका थिए। दुवैलाई १०/१० हजार नगद प्रदान गरियो। प्रशिक्षक रमेश मगर र देवीका खड्का ४/४ हजार तथा व्यवस्थापक धर्मरत्न पाछै र गायत्री बस्नेतलाई ३/३ हजार प्रदान गरियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell