
सिन्धुली : सिन्धुलीमा सिसी क्यामेराको सहायताले भारतको विहारदेखि आएर डकैती गरी फरार रहेका डाँका पक्राउ परेका छन्।
डाँकाको समूहले गत पुस २२ गते कमलामाई नगरपालिका–६ एकनम्बर बजारमा रहेको सिकन्दर शाहको शाह आयरनको पसलको सटर फुटाएर डकैती गरेका थिए। प्रहरीले घटनामा संलग्न तथा मुख्य योजनाकार सर्लाहीको त्रिभुवननगर–७ शेखटोला बस्ने ५२ वर्षीय सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। शेखलाई काठमाडौँबाट मंगलबार पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा ल्याइएको प्रहरी नायब उपरीक्षक सुभाषचन्द्र बोहोराले जानकारी दिए।
सो डकैती घटनामा संलग्न भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ४० वर्षीय उजिर अन्सारी, ३५ वर्षीय रामनाथ शाहा, भारतकै सुनौल बस्ने ३८ वर्षीय शेख सकिल, भारतको समस्तीपुर बस्ने ४० वर्षीय मोहम्मद दुलार, सीतामढी बस्ने ३५ वर्षीय मोहमद एलिहास र भारतको विहार राज्य वैरगनिया पञ्चायत बस्ने ३६ वर्षीय पुष सिंहको खोजी जारी रहेको पनि उनले बताए।
सिन्धुलीमा उनीहरु पहिलोपटक डकैती गर्न आएको र सिसी क्यामेराको सहायताले पक्राउ गरिएको प्रहरीको दाबी छ। सिन्धुलीमा डकैती गर्न सरिफुल रहमान भन्ने शेख मोहम्मद सलिफ पुस २० गते सिन्धुली आएको र शेखले सिन्धुलीका बजारका पसलको निगरानीसँगै बढी कारोबार हुने पसल, सहजता हेर्दै पसलको छनौट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
डकैतीमा शेखलाई रामनाथ शाहाले पनि सघाएका थिए। पुस २१ गते सिन्धुली आएका शेखले पुस २२ गते सिन्धुलीको स्टलबजारमा रहेको डाँफे होटल सात जनाका लागि बुक गरेको र शेखले खबर गरेपछि विहारबाट विआरओ ४४३१ नम्बरको टाटासुमोमा उनीहरु सिन्धुली आएका थिए। होटल सञ्चालकलाई टाढा जानुपर्ने भएकाले भोलि बिहान चाँडै निक्लने भन्ने जानकारी गराई बिहान ३ बजे होटलबाट डाँकाको समूह निक्लिएको थियो।
होटलबाट निक्लिएका डाँकाले ९ मिनेटको समयमा शाह आयरनको सटर फोरी डकैती गरी फरार भएका थिए। सिसी क्यामेराले कैद गरेको दृश्यअनुसार सिन्धुलीको २ नं बजार हुँदै उनीहरु ट्राफिक पोस्ट हुँदै सिन्धुलीमाढीबाट बाहिरिएका थिए। डकैती गर्न सफल डाँका सर्लाहीको त्रिभुवननगरमा पुगेपछि भागबन्डा गर्ने क्रममा विवाद भएको र छोरालाई विदेश पठाउने क्रममा शेख काठमाडौं गएकाले विशेष सूचनाका आधारमा शेखलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।
सिन्धुलीबजार क्षेत्रमा भर्खरै जडान गरिएको सिसी क्यामेराले प्रहरीको अनुसन्धानको कार्यलाई निकै सहज र लक्ष्यनजिक बनाइदिएको छ। सिन्धुलीमा भारतदेखि आएर डाँकाले डकैती गरेको यो पहिलो घटना हो।रासस