PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

अदालतको आदेश/फैसला सरल बनाउन पत्रकारहरुको माग



पहिलोपोस्ट

काठमाडौँ : अदालतको आदेश/फैसला जटिल भएकाले सरल र सर्वसाधारणले बुझ्न सक्ने तरिकाले लेख्न वरिष्ठ पत्रकारहरुले जोड दिएका छन्।

कानुनी भाषा सर्वसाधारणले सहजरुपमा बुझ्न नसक्दा समस्या, दुःख, हैरानी, गलत व्याख्या हुने हुँदा अदालतको आदेश/फैसला सरल भाषामा सामान्य नागरिकले सहज बुझ्ने हुनुपर्ने उनीहरुको भनाइ छ।

सर्वोच्च अदालत केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले आज आयोजना गरेको ‘न्यायिक सूचना सम्प्रेषणका सन्दर्भमा सञ्चारकर्मीसँगको अन्तर्क्रिया’मा वरिष्ठ पत्रकारले अदालती भाषा बुझ्न निकै जटिल भएको हुँदा सरल भाषा प्रयोग गर्नुपर्ने कुरा उठाएका हुन्।
 
वरिष्ठ पत्रकार पुरुषोत्तम दाहाल, विष्णु निष्ठुरी, धमेन्द्र झा, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, गोरखापत्र दैनिकका सम्पादक पुस्कर माथेमा, बबिता बस्नेत, कपिल काफ्ले लगायतले अदालती भाषा सरलरुपमा प्रयोग गर्नुपर्ने र अदालती भाषालाई सरलरुपमा प्रयोग गर्न निर्देशिका नै तयार गर्नुपर्ने सुझाव दिए।
 
सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले अदालतले सकेसम्म सरल भाषामा आदेश/फैसला लेख्ने अभ्यास भइरहेको र कानुनी भाषाका कतिपय आफ्नै नियम हुने बताए। सर्वोच्च अदातलका न्यायाधीश शारदाप्रसाद घिमिरेले पत्रकार र सर्वसाधारणले बुझ्ने भाषामा आदेश/फैसला लेख्ने प्रयास भइरहेको र कतिपय कानुनी शब्दलाई ध्यान दिनुपर्ने धारणा राखे।
 
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोणबहादुर कार्कीले राज्यका तीन अङ्गमध्ये न्यायपालिका निकै संवेदनशील भएको र न्यायपालिकाको शक्ति नै जनविश्वासमा अडिएको विचार राखे।
 
नेपाल पत्रकार महासङ्घका सभापति डा महेन्द्र विष्टले सूचनाको सहज पहुँच बढाउन तथा मिडिया र अदालत सहकार्य गरेर जानुपर्नेमा जोड दिए।रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell