
काठमाडौं: फिल्म 'सारङ्क' निर्माण भएको दुई वर्षपछि प्रदर्शनको तयारीमा लागेको छ। निर्माण युनिटले फिल्मको फस्ट लुक पोस्टर, गीत र ट्रेलर सार्वजनिक गरेको छ।
देशभक्तीलाई मुख्य विषय बनाइएको फिल्म अमेरिका प्रिमियरपछि नेपालमा प्रदर्शन हुने चलचित्रका निर्माता तथा निर्देशक विरेन्द्र हमालले जानकारी दिए।
सारङ्कमा सपना सिंह ठकुरी, सुर्वण खड्का, आकाश श्रेष्ठ, नवराज कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। सागरसिंह ठकुरीको पटकथा तथा संवाद रहेको चलचित्रमा विष्णु बाँस्तोलाको छायाँकन,गौतम राज खड्का सम्पादन र विरेन शाक्यको संगीत तथा किरण दाहालको द्धन्द्ध निर्देशन छ।
निर्देशकले भने,'हामीले चलचित्रमार्फत देशसँग तिमीले के माग्ने भन्दा पनि तिमीले के दिन दियौं भन्न खोजेका छौं।'
चलचित्रमा पहिलो पटक महिला द्धन्द्ध निर्देशक किरण दाहालले द्धन्द्ध निर्देशन गरेकी छन्। सम्भवतः उनको यो निर्देशन दक्षिण एसियामै पहिलो पटक महिला द्धन्द्ध निर्देशकको रुपमा पहिचान बनेको छ। झण्डै एक दशक लामो द्धन्द्ध कलाकारितापछि उनले पूर्णरुपमा द्धन्द्ध निर्देशन गरेको यो पहिलो चलचित्र हो। उनले यसअघि २०६९ सालमा प्रदर्शनमा आएको चलचित्र लुटमा सहद्धन्द्ध निर्देशक भएर काम गरेकी थिइन।