
धनगढी : नेपाल आर्मीलाई हराउँदै संकटा क्लब धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकपको सेमिफाईनलमा पुगेको छ। यससँगै सेमिफाइनल समिकरण पनि पुरा भएको छ। यसअघि नै भारतको दिल्ली युनाइटेड, आयोजक सुदूरपश्चिम ११ क्लब र मनाङ मर्स्याङ्दी अन्तिम चारमा पुगिसकेका छन्।
बुधबार धनगढी रंगशालामा भएको अन्तिम क्वाटरफाईनलमा संकटाले विभागीय टीम नेपाल आर्मीलाई २-१ ले स्तब्ध पारेको हो। हारेसँगै गत साता हेटौँडामा सुमन बम्जन स्मृति अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि जितेको आर्मी क्वाटरफाइनलबाट बाहिरियो। संकटाको जितमा विदेशी खेलाडी मार्टिन अएजीले २ गोल गरे। उनले पहिलो हाफको १६ औं र २५ औं मिनेटमा गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए।
पहिलो हाफमा २ गोललेपछि परेपनि आर्मीले दोस्रो हाफमा अधिकांश समय बल कब्जामा राखेको थियो तर एक गोल मात्र फर्काउन सक्यो। आर्मीका लागि ६१ औं मिनेटमा टंक वुढाथोकीले सान्त्वना गोल फर्काए।
जितपछि प्रतिक्रिया दिदै संकटाका प्रशिक्षक सल्यान खड्गीले सुरुमा गोल गर्ने रणनिति अनुसार खेलेको र त्यसपछि समालिएर खेल्दा जित हासिल भएको बताए। आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरुमा गोल खाएपछि दवाबमा परेको र त्यसपछि गोल गर्ने प्रयासहरु सफल नहुँदा हार बेहोरेको प्रतिक्रिया दिए।
संकटाले अब सेमिफाइनलमा आयोजक सुदूरपश्चिमसँग खेल्नेछ।
सुदुरपश्चिम ११ फुटबल क्लबको आयोजनामा पुस २१ गतेदेखि भईरहेको प्रतियोगिताअन्तर्गत बिहीबार पहिलो सेमीफाईनलमा भारतको दिल्ली युनाईटेड र मनाङ मर्स्याङदी क्लबबीच प्रतिस्पर्धा हुनेछ।
दोस्रो सेमिफाईनलमासुदुरपश्चिम ११ र संकटाबीच शुक्रबाट हुनेछ। माघ १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेताले ५ लाख र उपविजेताले दुई लाख ५१ हजार तथा उत्कृष्ट खेलाडीले यमाहा मोटरसाईकल प्राप्त गर्नेछन्।
(फोटो : गोलनेपाल डट कम)