कान्दाहार (अफगानिस्तान) : अफगानिस्तानको सहरहरूमा मङ्गलबार भएका बमबारीमा परी संयुक्त अरब इमिरेट्सका पाँच अधिकारीसहित ५७ व्यक्तिको मृत्यु भएको छ।
दक्षिणी कान्दाहारमा रहेको एक सरकारी कार्यालय परिसरका एक सोफामा लुकाएर राखेको बम विस्फोट हुँदा १२ व्यक्तिको मृत्यु भएको थियो । तीमध्ये पाँच जना भने संयुक्त अरब इमिरेट्सका अधिकारी रहेका बताइएको छ । यस आक्रमणमा परी कान्दाहार प्रान्तका उप गभर्नर अब्दुल शाम्सीको पनि मृत्यु भएको छ।
यद्यपि अफगानिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदूत भने सो विस्फोटनबाट बच्न सफल भएको बताइएको छ।
यस आक्रमणको केही घण्टा अगाडि अफगानिस्तानको संसद भवननजिकै भएको दुई वटा बम विस्फोटमा परी कम्तीमा ३८ व्यक्तिको मृत्यु हुनका साथै अन्य ८६ जना घाइते भएका थिए । त्यसैगरी मङ्गलबार बिहान सबैरै अफगानिस्तानको दक्षिणी प्रान्त हेलमान्डको प्रान्तीय राजधानी लास्कार घामा भएको एक आत्मघाती आक्रमणमा परी कम्तीमा सात व्यक्तिको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका थिए।
कान्दाहारमा भएको आक्रमणको तालिवानी आतङ्ककारी समूहले आफूहरूले नगरेको दाबी गरेका छन् भने काबुलमा अवस्थित संसदमा भएको आक्रमणको भने आफूहरूको हात रहेको दाबी गरेका छन् ।
नेपाल सरकारद्धारा घटनाको निन्दा
यसैबीच नेपाल सरकारले अफगानिस्तानको विभिन्न भागमा गत मङ्गलबार भएको बर्बर र अमानवीय बम आक्रमणको घटना र गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणको घटनाप्रति दुःख व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै अफगानिस्तानको विभिन्न भागमा भएको बम आक्रमणमा परी संयुक्त अरब इटिरेट्स(युयई)का अधिकारीहरु र अन्य र्निदोष नागरिकको मृत्यु भई ठूलो क्षति पुगेकामा दुःख व्यक्त गरेको हो।
नेपाल सरकारले यस दुःखद घडीमा अफगानी सरकार र त्यहाँका जनतालाई तथा बम बिस्फोटमा परी मृत्यु भएका युयइका नागरिकका आफन्तप्रति समवेदना प्रकट गरेको छ ।
यसैगरी गत आइतबार पूर्वी जेरुसलममा भएको सवारी आक्रमणमा परी चार इजरायली नागरिकको मृत्यु भएको तथा अन्य नागरिक घाइते भएको घटनामा नेपाल सरकारले दुःख व्यक्त गरेको छ।
जुनसुकै प्रकारको आतङ्कवादलाई दण्डित र अन्त्य गरिनुपर्ने नेपाल सरकारको मान्यता रहेको विज्ञप्तिमा उल्लेख छ।
नेपाल सरकारले इजरायली सरकार र घटनामा मृत्यु भएका परिवारप्रति पनि गहिरो समवेदना र सहानुभूति प्रकट गरेको छ। रासस/एएफपी