साना : यमनमा जारी युद्धको कारण करिब एक हजार चार सय बालबालिकाले ज्यान गुमाउनुका साथै अन्य सयौँ बालबालिका घाइते भएका छन्।
त्यसैगरी यस युद्धका कारण कैयौँ विद्यालय बन्द भएको संयुक्त राष्ट्र सङ्घीय बालबालिका कोष (युनिसेफ) ले बुधबार जानकारी दिएको छ।
यमनमा जारी द्वन्द्वको क्रम सर्वसाधारणको बस्ती इलाकामा भएको आक्रमणमा परी सयौँ बालबालिकाको मृत्यु भएको यमनका लागि युनिसेफका प्रतिनिधि मेरितसेली रेलानोले बताएकी छिन्।
यमनमा सन् २०१५ को मार्च महिनाबाट इरानको समर्थन भएको हुथी विद्रंोहीको विरुद्ध र यमनी सरकारको समर्थन गर्दै साउदी अरेबियासँग आवद्ध संयुक्त गठबन्धनले जारी राखेको कारबाहीमा परी सात हजार तीन सय व्यक्तिको मृत्यु भइसकेको छ।
रेलानोले द्वन्द्वमा सहभागी रहेका सबै पार्टीलाई बालबालिकाको रक्षाका लागि शिक्षालयमा आक्रमण गर्न बन्द गर्न आह्वानसमेत गरेकी छिन्।
गत मङ्गलबार मात्र पनि उत्तरी यमनमा विद्रोहीको बलियो प्रभाव रहेको स्थानमा अवस्थित एक विद्यालयनजिकै भएको हवाई आक्रमणमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको थियो । ती पाँच व्यक्तिमा दुई बालबालिकाको मृत्यु भएको युनिसेफले पुष्टि गरेको छ।
विद्यालयमा सधैँ नै शान्त वातावरण हुनुपर्छ र शिक्षाको यो पवित्र स्थलमा बालबालिकाले पढ्ने, बढ्ने, खेल्ने र सुरक्षित हुन पाउनुपर्ने अधिकार रेहको रेलानोले बताएकी छिन् । बालबालिका विद्यालयमा रहेको अवस्थामा कहिले पनि खतराको अनुभूति हुन नहुने उनी बताउ छिन्।
यमनमा रहेका करिब दुई हजार विद्यालय क्षतिग्रस्त एवम् ध्वस्त हुनका साथै केहीमा सैनिक प्रायोजनका लागि प्रयोगमा आइरहेको पनि उनले जानकारी दिएकी छिन् । रासस/एएफपी